खोटाङ जेठ–२८,  खोटाङस्थित जन्तेढुंगा गाउँपालिकावाट १२ जना स्थानीयको स्वाव संकलन गरेर पिसिआर परीक्षणका लागि बिराटनगर पठाईएको छ । भारतका विभिन्न स्थानबाट आएका जन्तेढुंगा गाउँपालिका–४ डम्बर्खुशिवालयका नौ सहित १२ जनाको स्वाव संकलन गरेर पिसिआर परीक्षणका लागि बुधबार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला प्रदेश नम्बर १ बिराटनगर पठाइएको हो ।

जन्तेढुंगा गाउँपालिका–५ चिसापानीका आरडिटि रिपोर्ट पोजिटिभ देखिएका एक जना र दाङबाट आएका दुई कर्मचारीको समेत पिसिआर परीक्षणका लागि नमूना पठाइएको गाउँपालिकाका स्वास्थ्य शाखा संयोजक पवन पोखरेलले बताउनुभयो ।

कोरोना भाईरसको संक्रमण भए/नभएको पत्ता लगाउनका लागि ९१ जनाको आरडिटि परीक्षणका क्रममा चिसापानीका एक जनाको रिपोर्ट पोजिटिभ देखिएको थियो ।

नियमित गाउँमै बसिरहेका भए पनि उनको आरडिटि रिपोर्ट पोजिटिभ देखिएको स्वास्थ्य शाखा संयोजक पोखरेलको भनाई छ । यसअघि जन्तेढुंगा गाउँपालिकाका संक्रमणको आशंका गरिएको पाँच जनाको पिसिआर परीक्षण रिपोर्ट नेगेटिभ आएको छ ।