खोटाङ, कार्तिक २४ । हरिबोधनी एकादसीको अवशरमा पुर्वको पशुपतिनाथ मानिने खोटाङको हलेसी महादेवस्थानमा बिहिबार बिहानदेखि पुजाआजा गर्ने दर्शनार्थीको बाक्लो घुँईचो लागेको छ । हरिबोधनी एकादसीको अवशरमा हलेसीमा दर्शन गर्न र मेला भर्ने दर्शनार्थीको बिहानैदेखि भीड लागेको हलेसी बिकास समितिका कार्यकारी निर्देशक सम्बर भूजेलले बताए । एकादसीका दिन हलेसीमा ब्रत गर्ने, फलफुल चढाउने नारीको बढि भीड लाग्ने गरेको छ ।
धार्मिक तथा साँस्कृतिक दृष्टिले प्रसिद्ध तिर्थस्थल हलेसीको दर्शन गर्नाले मनोकांक्षा पूरा हुने तथा महादेब गुफा, धर्मद्धार, पापद्धार, बसासा गुफा, भैरब गुफा, गर्दुङ गुफा, दुंदेलो गुफा लगायतका स्थान अवलोकन गर्न पर्यटक तथा दर्शनार्थीहरु हलेसी आउने गरेका छन् ।
किरात, बौद्ध र हिन्दु धर्मावलम्बीहरुको त्रि–धार्मिकस्थल मानिने हलेसी चट्टानले बनेका अलौलिक प्राकृतिक गुफा तथा आकृति अवलोकनकालागि प्रसिद्ध छ । बुद्धधर्मालम्बी भने दिर्घायू प्राप्ती हुने बिश्वासमा हलेसीमा दर्शन गर्न आउने गरेको मन्दीर व्यवस्थापन समितिले जनाएको छ ।