खोटाङ जेठ -२६,  करणी उद्योग सम्बन्धी जिल्ला प्रहरी कार्यालय खोटाङले जाहेरी लिन अस्वीकार गरेपछि पीडित पक्षले राष्ट्रिय मानव अधिकार आयोगलाई गुहारेका छन् । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१४ बुइपाका ५७ वर्षीय कुमार बास्तोलाविरुद्ध स्थानीय ३२ वर्षीया महिलाले दिएको जाहेरी प्रहरी नायब उपरीक्षक नारायण चिमोरियाले लिन अस्वीकार गरेपछि सोमबार पीडित पक्षले प्रहरी विरुद्ध नै मानव अधिकार आयोगको १ नम्बर प्रदेश शाखा कार्यालय दिक्तेलमा उजुरी दर्ता गराएका छन् ।

पीडित भनिएकी महिलाले दिएको उजुरी सोमबार नै दर्ता गरेर अनुसन्धान शुरु गरिएको आयोगका निमित्त प्रमुख सुमित्रा राईले बताउनुभयो । पीडक बास्तोलाले जेठ–३ गते राति आफ्नै घरमा आएर बलात्कार प्रयास गर्नुका साथै हातपात समेत गरेकाले उनीविरुद्ध कारबाहीको माग गर्दै जाहेरी लिएर प्रहरीमा जाँदा पटक-पटक फर्काइ दिएपछि मानव अधिकार आयोगमा उजुरी दिइएको पीडित महिलाले बताउनुभएको छ ।

मादक पदार्थ सेवन गरेर आएका पीडक बास्तोलाले गाउँका जोसुकैकी श्रीमती, छोरी र बुहारी पनि समाउन सक्छु भन्दै आफूलाई बलात्कार गर्न हातपात गरेको पीडित महिलाले बताउनुभयो ।

घटनास्थलमा पीडक भनिएका बास्तोला र महिलाबीच दोहोरो हात हालाहालसमेत भएको स्थानीय बासिन्दाले बताएका छन् । घटनामा महिलाले बास्तोलालाई दाउरा प्रहार गर्दा बास्तोलाको टाउकोमा चोटसमेत लागेको छ ।
बलात्कारको प्रयास असफल भएपछि घटनास्थलबाट भागेका बास्तोलाले प्रहरी टोली ल्याएर आफूहरुलाई नै उल्टै पक्राउ गराएको पीडित पक्षको आरोप छ । घटना लगत्तै पक्राउ परेका पीडित भनिएकी महिला र उनको श्रीमानविरुद्ध प्रहरीले अभद्र व्यवहार अभियोगको मुद्दा दर्ता गरेर कारबाही गरेको थियो ।

एघार दिन हिरासतमा बसेर तारिखमा छुटेका उनीहरुले जिल्ला प्रशासन कार्यालय खोटाङमा रु ४२ धरौटी बुझाएका छन् । धरौटीमा छुटेपछि पीडक बास्तोला विरुद्ध मुद्दा दर्ता गर्न जाँदा प्रहरीले पटक-पटक फर्काउने गरेको उनीहरुको आरोप छ ।
उता, प्रनाउ चिमोरियाले भने, महिलामाथि भएको घटना करणी उद्योग नभइ यौन दुव्र्यवहार भएकाले उनले प्रहरीमा दिएको उजुरी फर्काइएको जनाउनुभयो । यौन दुव्र्यवहार सम्बन्धी मुद्दा अदालतले हेर्ने भएकाले यौन दुव्र्यवहार अन्तरगतको मुद्दा लिएर अदालत जान सुझाव दिइएको उहाँको भनाई छ ।

पीडक भनिएका बास्तोलाले भने, आफूमाथि योजनावद्ध तरिकाले हातपात गर्नुका साथै चरित्र हत्या गर्न झुटो आरोप लगाएको बताएका छन् । यसअघि भएको घरायसी विवादमा उनीहरुले योजनावद्ध तरिकाले कुटेर फालेको बास्तोलाको आरोप छ ।

पीडित भनिएकी महिलाबाट कुटाइ खाएका बास्तोलालाई एम्बुलेन्समार्फत काठमाडौँ लगेर उपचार गरिएको आफन्तले बताएका छन् । उनको टाउको, हात र आँखामा गहिरो चोट लागेको प्रत्यक्षदर्शीले बताएका छन् ।