खोटाङ । देशभर गत ११ चैतदेखि कोरोना रोकथाम तथा नियन्त्रणका लागि लकडाउन जारी छ । लकडाउनकै बिचमा पनि कतिपय विकास निर्माणका कामहरु भने जारी छन् ।
यस्तै खोटाङको सदरमुकाम दिक्तलेमा पनि दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले कोरोनाकाे सजकता अपनाउँदै विकास निर्माणको कामलाई जारी राखेको छ ।लकडाउनमा केही दिन विकासका काम रोकिए पनि नगरपालिका मेयर दिप नारायण रिजाल लगायतको सक्रियतामा उच्च सतर्कता अपनाउँदै विकास निर्माणको काम अघि बढाइएको हो ।
नगरपालिकाकी उपमेयर विनादेवी राईका अनुसार रत्नपार्क खण्डको ढलानको काम सम्पन्न हुने क्रममा रहेको छ । बैंक चोकदेखि झिसेपु जाने सडक ढलानको अहिले पनि जारी अवस्थामा रहेको छ । त्रिवेणी चोकबाट लोकसेवा आयोगसम्म ढलानको काम भइरहेको छ भने त्रिवेणी चोक नजिक उकालो बाटो ढलानको काम पनि जारी राखिएको छ ।
उपमेयर राईका अनुसार अल्से ढुङ्गा सडककाे ढलान भइरहेको छ । त्यस्तै, मनोज मार्ग निर्माणकाे कामलाई तिब्रताका साथ अघि बढाइरहेको छ भने बजार क्षेत्र भित्र अव्यवस्थित विद्वुत तार हटाइ एबिसी केबुल जडानको काम जारी राखिएको छ ।
दिक्तेलबासीको निक्कै समस्याको रुपमा रहेको खानेपानीका लागि दिक्तेल सहरी खानेपानी आयोजनाको कामलाइ पनि प्राथमिकतमा राखेर अघि बढाइरहिएकाे छ ।
उपमेयर राईले लकडाउनकै बिचमा पनि सामाजिक दुरि कायम गरेर तीब्र गतिमा काम भइरहेको बताएकी छिन् । जारी विकासका कामहरुलाई समयमै सम्पन्न गर्न मेयर उपमेयर लगायतले नियमित अनुगमन, सहजीकरण तथा समन्वय गर्ने काम गरिरहेका छन् ।
लकडाउनकै बिचमा पनि सतकर्ता अपनाउँदै कामलाई अघि बढाएर दिक्तेललाई हेर्न लायक बनाउने काम भएको भन्दै नगरपालिकाको स्थानीयले तारिख गरिएको पाइएको छ ।