काठमाडौं । नेकपा माओवादी केन्द्रका केन्द्रिय अनुशासन आयोगका संयोजक समेत रहनु भएका टंक राई नेतृत्वको एक खोटाङे प्रतिनिधि मण्डलले पूर्वको प्रसिद्ध धार्मिक तथा पर्यटकिय स्थल हलेसीलाई संघमा नै राखेर विकास र प्रचार प्रसार गर्न माग गरेको छ ।

प्रतिनिधिमण्डले सँस्कृती तथा पर्यटनमन्त्री सुदन किरातीलाई शुक्रबार भेटेर हलेसीलाई संघमा नै राख्नुपर्ने जनाएको छ ।
सरकारले हलेसीलगायतका धार्मिक तथा पर्यटकियस्थललाई प्रदेश अन्तर्गत राख्ने तयारी गरेपछि टंक राई नेतृत्वको खोटाङे प्रतिनिधिमण्डलले मन्त्री राईको ध्यानाकर्षण गराएको हो ।

‘हलेसीको इन्टरनेशनल पोटेन्सियल भएकोले यसलाई संघमा नै राखेर प्रोमोट गर्नुपर्छ, दिनमा नै ४०/४५ हजारसम्म पर्यटक भित्रने यो ठाउँ भएकाले राज्यले त्यसै अनुसार विकास र प्रचार गर्नुपर्छ ।’ उहाँले भन्नुभयो ।

हलेसीमा कम्बोडिया, थाइल्याण्ड, तिब्बत लगायतका देशबाट बौद्धिष्ट पर्यटक आउने गरेकोमा पछिल्लो पटक श्रीलंकाबाट समेत आउन थालेको भन्दै उहाँले हलेसीलाई अन्तराष्ट्रिय स्तरमा ‘प्रोमोट’ गर्न माग समेत गर्नु भएको छ ।

सो क्रममा मन्त्री राईले आफूहरुले हलेसीलगायतलाई प्रदेशमा नै राखेर विकास गर्ने प्रस्ताव गरेको जनाउनु भएको थियो । उहाँले केन्द्र र प्रदेशको संयुक्त लगानीमा विकास गर्न सकिन्छ कि भन्नेमा आफूहरु रहेको जनाउनु भयो । ‘हामी त प्रदेशमा नै राखौं भन्ने प्रस्तावमा छौं, अब स्थानीयहरुको जोडबल संघमा नै राखौं भन्ने छ भने संघमै पनि रहन सक्छ ।’ उहाँले भन्नुभयो ।

नेता राईले अन्तराष्ट्रियस्तरमा प्रोमोट गर्न सकिने सम्भावना बोकेका धार्मिक, साँस्कृतिक तथा पर्यटकिय स्थललाई संघमा र देशभित्र मात्र प्रोमोट गर्न सकिने सम्भावना बोकेका गन्तव्यलाई प्रदेशमा राख्नुपर्ने जनाउँदै सोही किसिमको मापदण्ड बनाउन आवश्यक रहेको समेत बताउनु भएको छ ।