खोटाङ, २८ कात्तिक । नेत्रबिक्रम चन्द नेतृत्वको नेकपा (माओबादी)ले आह्वान गरेको बन्दका कारण खोटाङका यातायात सेवा पूर्णरुपमा ठप्प बनेको छ । बन्दका कारण सदरमुकाम दिक्तेलबाट हलेसी, जयराम, चखेवाभञ्ज्याङ, रेग्मीटार ओहोर–दोहोर गर्ने बस तथा जीप चलेका छैनन् । सवारी साधन नचल्दा आकस्मिक कामकालागि यात्रा गर्ने यात्रु सबैभन्दा बढि मारमा परेका छन् ।
 खाद्य सुरक्षाको माग गर्दै आव्हान गरिएको बन्दका कारण आईतबार बिहानदेखि नै गाडी नचलाइएको यातायात व्यवसायी संघ खोटाङका महासचिव राजकुमार राईले बताए । ‘बन्द आव्हान गर्दै नेकपा (माओबादी)का कार्यकर्ता आइरहेका छन्,’ महासचिव राईले भने, ‘कतै बाटोमा ढुंगाले हान्यो भने पनि हाम्रो ठूलो क्षती हुन्छ, त्यही भएर गाडी चलाउन रिस्क मोल्न चाहेनौँ ।’ जयराम र हलेसीबाट दिक्तेलतर्फ गइरहेका बस र ट्याक्टरलाई भने प्रहरीले स्कटिङ गरिरहेको जिल्ला प्रहरी कार्यालय खोटाङका डिएसपी नबिनकिशोर प्रधानले बताए । 
बन्दका कारण बिहानदेखि सदरमुकाम दिक्तेलका पशल तथा होटल पनि प्रभाबित छन् । बन्दकर्ता बजारमा डुलीरहेका कारण व्यवसायीले निर्धक्कसाथ पशल तथा होटल खोल्न नसकेको बताएका छन् । कतिपय व्यवसायीले एउटा ढोका खुला राखेर व्यपार व्यवसाय सञ्चालन गरिरहेका छन् । बन्दको हल्लाले शैक्षिक संस्था समेत प्रभाबित भएको छ । बन्दकाक्रममा अप्रिय घटना हुन नदिन स्थानीय प्रशासनले दिक्तेलका ठाउँ–ठाउँमा शसस्त्र र नेपाल प्रहरीको टोली खटाइएको छ ।