खोटाङ जेठ–११ । खोटाङस्थित बराहपोखरी गाउँपालिकाले लकडाउनबाट पीडित भएका ७ सय ३८ परिवारलाई राहत वितरण गरेको छ । लकडाउनका कारण समस्यामा परेका ६ वटै वडाका विपन्न परिवारलाई गाउँपालिकाले १५ लाख रुपैंयाँ बराबरको चामल, दाल, नुन, तेल वितरण गरेको हो ।

एक देखि दुई जना सदस्य संख्या भएका परिवारलाई प्रति परिवार १० केजी चामल, १ केजी दाल, आधा लिटर तेल र एक केजी नुन, दुई देखि चार जनाको परिवारलाई प्रति परिवार २० केजी चामल, २ केजी दाल, एक लिटर तेल र २ केजी नुन वितरण गरिएको गाउँपालिकाका प्रशासन सहायक रमेश पोखरेलले बताउनुभयो ।

यस्तै, पाँच जनाभन्दा बढि संख्या भएका परिवारलाई २५ केजी चामल, ३ केजी दाल, डेढ लिटर तेल र २ केजी नुन वितरण गरिएको पोखरेलको भनाई छ । जेठ ४ गतेदेखि शनिबारसम्ममा लकडाउन पीडित परिवारलाई राहत बाँडिसकिएको जनाईएको छ ।