खोटाङ  जेठ–११ । सुनसरीको तरहरावाट आफन्तको मृत्यु भएको नक्कली कागजात बनाएर पाँच जना स्थानीय खोटाङ आएको खुलेको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–८ दोर्पाचिउरीडाँडाका स्थानीय आफन्तको मृत्यू भएको नक्कली कागजात वनाएर गाउँ आएको खुलेको हो ।

उनीहरुले २० वर्षअघि मृत्यु भएका थापा थरका आफन्तको गत जेठ ८ गते मृत्यु भएको कागजात तयार गरेर मृत्यु संस्कारका लागि शनिबार गाउँ आएका हुन् । ईलाका प्रहरी कार्यालय पोकली सुनसरीले उपलव्ध गराएको कागजातमा पनि जेठ ८ गते आफन्तको मृत्यु भएकाले मृत्यु संस्कारका लागि पास उपलव्ध गराइएको उल्लेख रहेको श्रोतले जनाएको छ । दुई दशक अघि मृत्यु भएका वृद्धको संस्कारको कागजात बनाएर गाउँ आउनेमा थापा, चौहान, कार्की र कठायत थरका स्थानीय छन् ।

नक्कली मृतकको कागजात बनाएर आउँदै गरेका उनीहरुलाई खोटाङ प्रवेश गर्ने नाका जयरामघाटमा प्रहरीले छेकेको थियो । तर, उनीहरुले ईलाका प्रहरी कार्यालय पोकलीबाट नाकामा बसेका प्रहरीलाई फोन गराएर जयराम पार गरेका थिए । नक्कली मृतकको कागजात तयार पारेर पाँच स्थानीय जिल्ला प्रवेश गरेको जानकारी आएपछि स्थानीय प्रशासनले पनि छेक्ने प्रयास गरेका थिए ।

दिक्तेलवजार प्रवेश गर्न लाग्दा छेकिएका उनीहरुलाई जनप्रतिनिधिको आग्रहमा क्वारेन्टाइनमा राख्नेगरी छाडेको श्रोतले जनाएको छ । २० वर्षअघि मृत्यु भएका आफन्तको हालको मृत्यु बनाएर गाउँ आएका पाँच जनालाई शनिबार साँझदेखि नै दोर्पाचिउरीडाँडास्थित अन्नपूर्ण माबिको क्वारेन्टीनमा राखिएको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका मेयर दिपनारायण रिजालले बताउनुभयो ।

यसअघि, दिप्रुङ चुईचुम्मा गाउँपालिका–१ याम्खामा एक महिला नक्कली पेट बनाएर नक्कली गर्भवती बनेर ईटहरीबाट गाउँ आएका थिए ।

कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि हाल मुलुकभर लकडाउन गरिएको अवस्थामा जिल्लामा पनि एक ठाउँबाट अर्को ठाउँमा पुग्न सहज छैन । कतिपय टोलबाट अर्को टोल आवत–जावत गर्नमा समेत रोक लगाइएको छ ।