खोटाङ, ३० कात्तिक । जिल्लामा निर्माण गरिएका सबै सडकमा यातायात सेवा सुरु भएको छ । वर्षादको पानीले भत्किएको र खाल्डाखुल्डी बनेको सडक मर्मत गरेर सञ्चालनमा ल्याइएको हो । 
यात्रुहरुको समस्यालाई मध्यनजर गर्दै जिल्लामा यसअघि सञ्चालनमा रहेका र नयाँगरि सात वटा सडकमा नियमित यातायात सेवा सुचारु गरिएको यातायात व्यवसायी सङ्घ खोटाङका सचिव रामकुमार हिङ्माङले जानकारी दिनुभयो । “निर्माण कार्य सम्पन्न भएका सबै सडकमा गाडी सञ्चालन गरिएको छ ।” उहाँले भन्नुभयो, “निर्माणाधिन अवस्थामा रहेका अन्य सडकमा पनि सम्भव भएसम्म सञ्चालन गर्ने तयारीमा छौं ।” 
सचिव हिङ्माङका अनुसार दिक्तेल–जयरामघाट, दिक्तेल–चखेवा, दिक्तेल–रसुवाघाट, दिक्तेल–पाथेका, दिक्तेल–रावाखोला, दिक्तेल–साप्सु र हलेसी–दुवेकोलको लागि गाडीसमेत छुट्याइएको छ । नियमित गाडी सञ्चालन गरिएसँगै भाडा दर र बस छुट्टिने समय तालिका समेत सार्वजनिक गरिएको यातायात व्यवसायी सङ्घले जनाएको छ । 
गत वर्ष सञ्चालनमा रहेको दिक्तेल–जालपा सडक भने स्तरोन्नतीको काम भइरहेकाले तत्काल सञ्चालनमा ल्याउन नसकिएको सचिव हिङ्माङले जानकारी दिनुभयो । हुर्लुङ–ऐसेलुखर्क सडक खण्डमा पर्ने उक्त सडक समेत केही दिनमा नै सञ्चालनमा आउने जनाइएको छ । 
कच्ची अवस्थामा रहेको जिल्लाका सबै सडकमा हिउँदको समयमा मात्र यातायात सेवा सञ्चालन हुँदै आएको छ । करिब छ महिना मात्र सञ्चालन हुने सडकमा यातायाता सेवा सुचारु भएपछि गाउँगाउँका यात्रु हर्षित भएका छन् । 
जिल्लामा निर्माण गरिएका सबै सडक सञ्चालनमा आएपनि तराई तथा राजधानीसँगको सिधा यातायात भने जोडिएको छैन । मध्यपहाडी लोकमार्गमा पर्ने जयरामघाटस्थित दूधकोसी र दिक्तेल–गाईघाट सडक खण्डमा पर्ने फोक्सिङटारस्थित सुनकोसीमा बेलिब्रिज नबनेसम्म जिल्ला भित्र मात्र सञ्चालन हुनेछ ।