खोटाङ जेठ–३, खोटाङस्थित हलेसी तुवाचुङ नगरपालिकाका जनप्रतिनिधि सहित ३४ जनाको थ्रोट स्वाव पीसीआर टेष्टका लागि धरान पठाएको छ । नगरपालिकाका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, वडा सचिवसहितको स्वाब विपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएको स्वास्थ्य शाखाका सह–संयोजक प्रकाश घिमिरेले जनाउनुभएको छ ।

कोरोना भाइरसको संक्रमण भए/नभएको थाहा पाउनका लागि नगरपालिकाका २ जना जनप्रतिनिधि, २ जना स्वास्थ्यकर्मी, ३ जना सुरक्षाकर्मी, १ जना वडासचिवको स्वाव पीसीआर परीक्षणका लागि शुक्रवार पठाईएको हो । यस्तै, क्वारेन्टाइनमा बसिरहेका १ जना र काठ्मण्डौंबाट उद्धार गरेर घर ल्याइएपछि होम क्वारेन्टाइनमा बसिरहेका २४ जनाको स्वाव पठाइएको सह–संयोजक घिमिरेले उल्लेख गर्नुभयो ।

कामका शिलसिलामा आशंका गरिएको व्यक्तीको नजिकमा बढि पुगेका जनप्रतिनिधि, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, वडा सचिव लगायतको स्वाव टेष्टमा पठाइएको हो । तीन दिनभित्रमा पिसिआर रिपोर्ट आउने नगरपालिकाले जनाएको छ । ११ वडा रहेको हलेसी तुवाचुङ नगरपालिकाका विभिन्न क्वारेन्टाइनमा हाल ९ जना छन् ।

हालसम्म क्वारेन्टाइनबाट ३४ जना घर फर्किसकेका छन् । क्वारेन्टाइनमा दुई जना नगरपालिकाकै कर्मचारीलाई समेत राखिएको छ ।