खोटाङ जेठ–२, प्रथम शंखडोल खुल्ला अनलाइन काता प्रतियोगिताका उपाधी खोटाङ र धनगढीका खेलाडीले चुमेका छन् । गोकर्णेश्वर नगरपालिकास्थित शंखडोल डोजोको आयोजनामा भएको प्रथम शंखडोल खुल्ला अनलाइन काता प्रतियोगितामा महिलातर्फ खोटाङ खार्मीकी खेलाडी रोश्मा राई र पुरुषतर्फ धनगढीका जगतसिंह धानुकले उपाधी चुमेका हुन् ।

प्रतियोगिताको महिलातर्फ रोश्माले २४ दशमलव ५ त्यस्तै धानुकले पनि कुल २४.५ अंक ल्याएर प्रथम भएका हुन् । ११ जना सहभागी महिलातर्फ धनगढी कराँते एकेडेमीकी वर्ष राउत दोश्रो तथा एपीएफकी सरिता श्रेष्ठ तेश्रो भएको आयोजकले उल्लेख गरेका छन् ।

यस्तै, पुरुषतर्फ बालाजु डो एकेडेमीका धिरेस श्रेष्ठ दोश्रो तथा नरहरी डोजोका स्वर्णिम मानन्धर तेश्रो भएका छन् । प्रतियोगिताको उदियमान खेलाडीको उपाधि लैनचौर डोजोका रेहान जावेद बने भने सुर्खेतका ५२ वर्षका खलाडी प्रदिप राईलाई मच्योर खेलाडीको उपाधि दिईएको छ ।

प्रतियोगितामा दुबै विधामा प्रथम हुने खेलाडीले जनही १२ हजार पाँच सय प्राप्त गरे भने दोश्रो हुनेले ६ हजार पाँच सय र तेश्रो हुनेले ४ हजार रुपैयाँ जनही प्राप्त गरेका छन् ।
कोरोना भाइरसका कारण कराँतेको गतिविधि हुन नसकिरहेको अवस्थामा शंखडोल डोजोले भर्चअल अनलाईन प्रतियोगिताको आयोजना गरेको हो । आयोजकले देशब्यापी रुपमा रहेको कराँते खेलाडीहरुलाई आफैले भिडियो बनाएर फेसबुकमा पोस्ट गर्न आग्रह गरेको थियो ।

सहभागि खेलाडीहरुले जेठ १ गते बेलुकी ५ बजेभित्र आयोजकले तोकेको समयमा भिडियो पोस्ट गरेका थिए ।
प्रतियोगितामा १३ औं दक्षिण एशियाली खेलकुदमा करातेतर्फ दोहोरो स्वर्ण जित्न सफल खेलाडी मण्डेकाजी श्रेष्ठले निर्णयकको भुमिका निर्वाह गरेका थिए । श्रेष्ठले खेलाडीहरुले अनलाईन मार्फत पठाएका काताँको मुल्यांकन गरेका हुन् ।

प्रतियोगिताका विजेतालाई प्रदान गरिएको पुरस्कार राशिका लागि नेपाल राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडी संघका अध्यक्ष दीपक श्रेष्ठको विशेष सहयोग रहेको आयोजकले जनाएको छ ।