खोटाङ जेठ–१, खोटाङस्थित हलेसी तुवाचुङ नगरपालिका–३ च्यास्मीटारका स्थानीय टोल–टोलमा विद्युत विस्तार गर्न जुटेका छन् । छिमेकी वडा बडहरे र दुर्छिममा केन्द्रीय प्रशारणलाईन विस्तार भइसकेको अवस्थामा च्यास्मीटारमा विद्युत विस्तारका लागि टोल–टोलमा उपसमिति गठनका लागि जिम्मेवारी बाँडफाँड गरिएको छ ।

हलेसी तुवाचुङ नगरपालिकाकी उपमेयर बिमला राईको आव्हानमा बिहिबार च्यास्मीटारमा भएको बैठकले साविकको ९ वडामा विद्युत विस्तार उप समिति गठनका लागि प्रतिवडा एक/एक जनालाई जिम्मेवारी तोकिएको छ । बैठकले विद्युत विस्तारका लागि विद्युत विस्तार मूल समिति तथा वडाध्यक्षको सहजीकरणमा नेपाल विद्युत प्राधिकरणसँग समन्वय गरी तत्काल लागत स्टीमेट तयार पार्ने काम पूरा गर्ने निर्णय गरेको छ ।

कतिपय टोलको लागत स्टीमेट तयार भइसकेको उपमेयर राईको भनाई छ । लागत स्टीमेट तयार नभएका टोलको तत्काल लागत स्टीमेट तयार पार्ने निर्णय गरिएको उहाँले जनाउनुभयो । स्थानीय तह कार्यान्वयनमा आएको वर्षबाटै उज्यालो वडा घोषणा गर्ने अभियान थालेको नगरमा हलेसी तुवाचुङ नगरपालिका–१ बाहुनीडाँडा, हलेसी तुवाचुङ नगरपालिका–२ डिकुवा र हलेसी तुवाचुङ नगरपालिका–३ च्यास्मीटारमा विद्युत बिस्तार गर्न बाँकी छ । च्यास्मीटारका प्रमुख क्षेत्रमा पोल राख्ने र तार टाँग्ने काम समेत भइरहेको छ ।