काठमाडौं । नेपालमा कोरोना संक्रमितको संख्या २४६ पुगेको छ । बुधबारसम्म कोरोना संक्रमितको संख्या २ सय ४३ पुगेको थियो । आज ३ जना थपिएका हुन् ।

पछिल्लो पटक पूर्वी नवलपरासीका एक जनामा कोरोना पुष्टि भएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नवलपरासी पूर्वको देवचुली नगरपालिका– १२ का ४९ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको जनाएको छ ।

चितवनको भरतपुरको प्रयोगशालामा गरिएको परीक्षणमा उनमा कोरोना संक्रमण पुष्टि भएको हो । संक्रमित व्यक्ति भारतको कोलकाताबाट वैशाख २५ गते नेपाल भित्रिएका थिए । उनी ३० गते चितवनको भरतपुर आइपुगेको बताइएको छ ।

३० गते राति ११ बजे उनलाई सोझै भरतपुर कोरोना अस्पतालमा लगिएको हो । उनी अहिले अस्पतालमै रहेको र स्वास्थ्य अवस्था सामान्य रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । उनी कोलकाताबाट औषधि बोकेको गाडीमा काँकडभिट्टासम्म आएका थिए । काँकडभिट्टाबाट पनि भरतपुरसम्म औषधि बोकेको गाडीमा आएका थिए ।