हाम्रोखोटाङ समाचारदाता
खोटाङको साकेला गाउँपालिका रतन्छा २ नम्बर वडामा सोमबार ¥यापिड डाइग्नोस्टिक टेष्ट ( आरडिटी) विधिमार्फत कोरोना परीक्षण गर्दा दुई जनाको रिपोर्ट पोजेटिभ आएपछि अहिले जिल्लाभर चासो र चिन्ता बढेको छ ।
प्रहरी प्रशासनले आरडिटीमा पोजेटिभ देखिएका व्यक्तिसँगै बसमा आउनेहरुलाई सम्पर्क गरेर घुमफिर नगर्न र सतर्क हुन निर्देशन दिएको छ ।
गाउँपालिकाले दोस्रो चरणको आरडिटी परीक्षणमा पोजेटिभ देखिएपछि आफ्नो सक्रियता पनि बढाएको छ । गाउँपालिका प्रमुख अर्जुन खड्का झङ्कारले पिसिआर नतिजा नआउँदासम्मका लागि पोजेटिभ देखिएको घर परिवारमा सिलबन्दी गरिएको जानकारी दिएका छन् । पालिकाभित्र आवत जावतमा कडाई गरिएको छ भने गाउँपालिकाले नाकाहरुमा सतर्कता बढाएको जनाएको छ ।
दुई थरी आरडिटी किट, दुई थरी रिपोर्ट
हामीले बुझ्नुपर्ने कुरो के हो भने, आरडिटी परीक्षणमा पोजेटिभ नतिजा आउनु भनेको कोरोना लाग्नु हैन । आरडिटी विधिमार्फत पोजेटिभ देखिएकोमा पिसिआर मार्फत परिक्षण गर्दा नेगेटिभ आएका उदाहरणहरु नेपालमै रहेका छन् । आरडिटीमा पोजेटिभ देखिदैमा आत्तिन नपर्ने तर सतर्क नरहनुपर्ने चिकित्सकहरुले बताउँदै आएका छन् । पिसिआरबाट मात्र कोरोना लागे नलागेको पुष्टि हुने गर्दछ ।
साकेलामा आरडिटी परीक्षणमा नै दुई थरी नतिजा आएको समेत पाइएको छ । गाउँपालिका अध्यक्ष अर्जुन खड्का अनुसार गाउँपालिकाले टेकु हस्पिटलकै सिफारिसमा निजी क्षेत्रबाट २ सय आरडिटी किट किनेको थियो । संघ तथा प्रदेश सरकारबाट पनि गाउँपालिकामा किट आएको थियो ।
सोमबार परीक्षणका क्रममा गाउँपालिकाले खरिद गरेको किटबाट पोजेटिभ आएको थियो । पुनः गाउँपालिकाले खरिद गरेकै किटबाट परीक्षण गर्दा पोजेटिभ आएपनि संघ तथा प्रदेशबाट आएको किटबाट भने रिपोर्ट नेगेटिभ आएको थियो ।
पिसिआर परीक्षणका लागि पठाइयो
गाउँपालिकाले सोमबार नै आरडिटीमा पोजेटिभ देखिएकोका पिसिआरमार्फत परीक्षणका लागि स्वाब संकलन गरेर एम्बुलेन्समार्फत पठाएको अध्यक्ष खड्काले जानकारी दिएका छन् । पिसिआरको नतिजापछि मात्र उनीहरुमा कोरोना लागे नलागेको पुष्टि हुने छ । भोलि बुधबारसम्म नतिजा आउन सक्ने बताइएको छ ।
तत्काललाई आरडिटी परीक्षण बन्द
गाउँपालिकाले तत्कालका लागि आरडिटी परीक्षण बन्द गरेको छ । सोमबार पोजेटिभ देखिएका व्यक्तिको पिसिआर विधिबाट नतिजा आएपछि मात्र पुनः आरडिटी परीक्षण सुरु गरिने अध्यक्ष खड्काले हाम्रोखोटाङ डटकमलाई जानकारी दिए । गाउँपालिकाले खरिद गरेको किटबाट पोजेटिभ देखिएकाे तर संघ र केन्द्रबाट ल्याएकाेमा नेगेटिभ देखिएपछि अब गाउँपालिकाले ल्याएकाे किटको पनि परिक्षण गरेर मात्र आरडिटी परीक्षण सुरु गरिने पनि अध्यक्ष खड्काले जानकारी दिए ।
प्रहरी प्रशासनको सक्रियता
आरडिटी परीक्षणमा पोजेटिभ नतिजा आएसँगै खोटाङ प्रहरीले पनि सक्रियता देखाएको छ । रतन्छामा पोजेटिभ देखिएका व्यक्तिसँगै बसमा आएकाहरुको पहिचान गरेर प्रहरीले फोन गरेर हिडडुल नगर्न र सतर्क रहन अनुरोध गरेको पाइएको छ ।
रतन्छामा आरडिटी पोजेटिभ देखिएका व्यक्तिसँगै बसमा आएका एक व्यक्तिले आफूलाई प्रहरीले फोन गरेर काठमाडौंबाट आउँदा चढेको बसमा रहेकामा आरडिटी पोजेटिभ देखिएकाले हिडडुल नगर्न र सतर्क रहन अनुरोध गरेको जानकारी दिए ।
दुई वटा बसमा भएकामा आरडिटी पोजेटिभ
साकेला गाउँपालिका–२ रतन्छामा सोमबार दोस्रो चरणको आरडिटि परीक्षणमा दुई जनाको नतिजा पोजेटिभ देखिएको थियो । दुबईबाट ११ फागुनमा काठमाडौँ ओर्लिएर १२ वैशाखमा रिजर्भ गाडीमार्फत गाउँ पुगेका ५८ वर्षका पुरुष र काठमाडौँमा अस्थायी बसोबास गर्ने आएका २३ वर्षीय युवकको आरडिटि रिपोर्ट पोजिटिभ देखिएको हो । २३ वर्षिय युवक पनि रिजर्भ गाडीबाटै १३ वैशाखमा गाउँ पुगेको जनाइएको छ ।
आरडिटि रिपोर्ट पोजेटिभ देखिएका रतन्छाका ५८ वर्षीय पुरुष चढेको बा ४ ख २१२९ नम्बरको गाडीमा वैशाख–१२ गते ३७ जना र वैशाख–१३ गते २३ वर्षीय युवक चढेको बा ४ ख ५० २८ नम्बरको गाढीमार्फत ३८ जना सर्वसाधारण जिल्ला भित्रिएको प्रहरीले जनाएको छ । यसरी काठमाडौंबाट आएको बसमध्ये एकले दिक्तेल, दोर्पा, निर्मलीडाँडा, च्यानडाँडा र रतन्छाका नागरिक बोकेको खुल्न आएको छ ।