खोटाङ २९ वैशाख । खोटाङमा ¥यापिड डाइग्नोस्टिक टेष्ट (आरडिटि) मार्फत कोरोना परीक्षण गर्दा जिल्लामा पहिलो पटक पोजेटिभ नतिजा आएको छ ।
साकेला गाउँपालिका–२ रतन्छाका दुई जनाको आरडिटि रिपोर्ट पोजेटिभ देखिएको हो । पोजेटिभ नतिजा आएको घरमा गाउँपालिकाले सिलबन्दी गरेको छ ।

गाउँपालिकाका अध्यक्ष अर्जुन खड्का (झङ्कार) ले दुबईबाट ११ फागुनमा काठमाडौँ ओर्लिएर १२ वैशाखमा रिजर्भ गाडीमार्फत गाउँ पुगेका ५८ वर्षका पुरुष र काठमाडौँमा अस्थायी बसोबास गर्ने आएका २३ वर्षीय युवकको आरडिटि रिपोर्ट पोजिटिभ देखिएको हो । २३ वर्षिय युवक पनि रिजर्भ गाडीबाटै १३ वैशाखमा गाउँ पुगेको जनाइएको छ । उनीहरुको आरडिटी रिपोर्ट पोजेटिभ आएपनि कोरोना संक्रमण भए नभएको पुष्टि हुन बाँकी छ । पिसिआरमार्फत परीक्षण गरेपछि उनीहरु संक्रमित भए नभएको पुष्टि हुनेछ ।

अध्यक्ष खड्काले पोजिटिभ रिपोर्ट देखिएका दुई जना र उनीहरुको परिवारका अन्य सदस्यको पिसिआर परीक्षण गर्न थ्रोट स्वाव सङ्कलन गरेर पठाउने तयारी भएको जानकारी दिएका छन् । पिसिआरको रिपोर्ट नआएसम्मका लागि उनीहरुको घरलाई पूर्णरुपमा सिल गरिएको अध्यक्ष खड्काले जनाएका छन् ।

काठमाडौँबाट आएलगत्तै १४ दिन क्वारेन्टाइन बसेपछि होम क्वारेन्टाइनमा पठाइएको अवस्थामा उनीहरुको आरडिटि परीक्षण गरिएको गाउँपालिकाले जनाएको छ । आरडिटि रिपोर्ट पोजेटिभ देखिएका रतन्छाका ५८ वर्षीय पुरुष चढेको बा ४ ख २१२९ नम्बरको गाडीमा वैशाख–१२ गते ३७ जना र वैशाख–१३ गते २३ वर्षीय युवक चढेको बा ४ ख ५० २८ नम्बरको गाढीमार्फत ३८ जना सर्वसाधारण जिल्ला भित्रिएको प्रहरीले जनाएको छ ।

गाउँपालिकाको तर्फबाट आरडिटि किट ल्याएर परीक्षण शुरु गरिएकै दिन दुई जनाको रिपोर्ट पोजेटिभ आएको हो । गाउँपालिकाले आरडिटी पोजेटिभ आएसँगै लकडाउन कडाई गरेको छ । एक गाउँबाट अर्को गाउँ आवतजावत गर्ने नाका पूर्णरुपमा बन्द गरिएको गाउँपालिकाले जनाएको छ । साकेला गाउँपालिकाले दुई दर्जन टेष्ट किट खरिद गरेर दोस्रो चरणको आरडिटी सुरु गरिएको हो ।