खोटाङ २९ वैशाख । खोटाङको साकेला गाउँपालिकामा आरटिडीमार्फत कोरोना परीक्षण गर्दा दुई जनामा पोजेटिभ नतिजा आएको छ । गाउँपालिकाले आरडिटीमार्फत परीक्षणका क्रममा दुई जनामा नतिजा पोजेटिभ देखिएको जनाएको छ ।
यद्यपी, उनीहरुमा कोरोना लागे नलागेको पुष्टि हुन भने बाँकी छ । पिसिआर प्रविधिमार्फत परीक्षण गर्दा नतिजा पोजेटिभ आएमा मात्र कोरोना लागेको पुष्टि हुने गर्दछ । कतिपय ठाउँमा आरडिटीमा पोजेटिभ देखिएकालाई पिसिआर प्रविधिमा परीक्षण गराउँदा नतिजा नेगेटिभ पनि आउने गरेको छ ।
आरडिटीमा पोजेटिभ देखिएका २ जना वर्ष २३ र वर्ष ५८ का व्यक्ति रहेका छन् । उनीहरु १२ वैशाखमा काठमाडौंबाट साकेला गएकोमा क्वारेन्टाइनमा बस्दै आएका थिए । गाउँपालिकाले क्वारेन्टाइन तथा होम क्वारेन्टाइनमा रहनुहुनेलाई पूर्ण नियम पालना गरी बस्न तथा अन्यलाई नआत्तिकन आग्रह गरेको छ ।
साकेला गाउँपालिकाले आजदेखि दोस्रो चरणको कोरोना भाइरसको आरडिटी परीक्षण शुरु गरेको हो । १४ दिनसम्म क्वारेन्टाइनमा बसेकालाई पहिलो प्राथमिकता दिएर आरडिटी शुरु गरिएकोमा दुई जनामा नतिजा पोजेटिभ देखिएको हो । आरडिटी परीक्षणका लागि पालिकाले २०० थान टेष्ट किट ल्याएको छ ।