खोटाङ २८ वैशाख । नेपाल कम्युनिष्ट पार्टीका केन्द्रिय सदस्य तथा सांसद विशाल भट्टराईलाई अहिले थोरै पनि फुर्सद निकाल्न गाह्रो भइरहेको छ ।

विश्वभरी महामारीको रुप लिइरहेको कोरोना भाइरस थप नफैलियोस् भनेर सरकारले चैत्र ११ देखि लकडाउन घोषणा गरेपछि अलपत्र तथा समस्यामा परेका काठमाडौंमा रहेका खोटाङेहरुलाई राहत वितरण गर्न उनी व्यस्त रहेका हुन् ।

राहतका पोका बोकेर खोटाङेका कोठा कोठामा उनी पछिल्ला दिनहरुमा पुगिरहेका छन् । काठमाडौंमा रहेका खोटाङेहरुले ‘हुनेबाट लिने र नहुनेलाई दिने’ अभियान नै चलाएका छन् । सांसद भट्टराईले कोही समस्या परेको भए खबर गर्न समेत आग्रह गरेका छन् । ‘लकडाउनका कारण कोही खोटाङे जनता भोकै बस्नु पर्दैन”, उनले भने, “समस्यामा हुनुहुन्छ भने ९८५१०६०२८८ मा फोन गर्नुस् । म तपाईको कोठामै राहत सामग्री लिएर आउने छु ।’

केही दिनदेखि काठमाडौँमा रहेका विद्यार्थी, मजदुर, अपाङ्ग र असहाय नागरिकलाई अभियानकै रुपमा राहत सङ्कलन गरेर वितरण गरिरहेको सांसद भट्टराईले बताएका छन् ।

आफूले प्रचारमुखी नभई लकडाउनको मारमा परेका जिल्लाबासीलाई थोरै भएपनि सहयोग गर्ने उद्देश्यले राहत वितरण गरेको उनले बताएका छन् । विभिन्न दाताहरुबाट प्राप्त राहत सामग्री भट्टराईले वितरण गर्दै आएका हुन् ।