खोटाङ बैशाख–२६, कोरोना भाइरस प्रकोपका कारण यतिवेल संसार नै चिहिलविहिल छ । नेपाल पनि अछुत रहन सकेन । नेपालभर जस्तै खोटाङ पनि क्रमशः लम्विएको लकडाउनको कारण घरभित्रै छन् ।
यसवीचमा खोटाङका कतिपय स्थानीयले भने लकडाउनलाई अवसरको रुपमा लिँदै गाउँको विकास निर्माणका कार्यहरुलाई तीव्रता दिएका छन् । कोरोना संक्रमण रोकथामको उपाय अपनाउँदै सामाजिक दुरी कायम राखी जिल्लाका स्थानीयहरु विकास निर्माणमा जुटेका छन् ।

कोरोना न्युनिकरण तथा रोकथामका लागि नगरपालिकाभित्रका वडा तथा अन्य गाउँपालिकावाट वाहिरिन र भित्रिन नदिन स्वयमसेवी रुपले जुटिरहेका दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–११ खार्मीका केही युवाहरु भने सडक स्तरोन्नतीको कार्यमा खटिरहेका छन् ।

स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम अन्र्तगत विनियोजित १५ लाख रुर्पैयाँ वजेटमा स्तरोन्नती हुने दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–११ खार्मीमा सडक स्तरोन्नती गर्न स्थानीय युवा लगायतले श्रमदान गरिहेका छन् । करिव ८ वर्ष अघि ट्र्याक खोलिएको हरेलोडाँडा–तापखोला सडक अन्र्तगत कालिका मावि खामी–तापखोला सडक स्तरोन्नतीका लागि सङ्घीय सांसद विशाल भट्टराईमार्फत वजेट विनियोजन भएको थियो ।

बैशाख २१ देखि शुरु भएको सडक स्तरोन्नती कार्यमा दैनिक १५ देखि २५ जनासम्म युवाहरु श्रमदानमा जुटिरहेको स्थानीय समाजसेवी ईखवहादुर राईले वताउनुभयो । कालिका माविदेखि तापदखोलासम्म साँढे सात किलोमिटर रहेको सडकखण्डलाई लाई कम्तीमा पाँच मिटर चौडाईको निर्माण गरी ग्रेड मिलाउने टुंगो भएको राईको भनाई छ ।
हेमन्त राईको अध्यक्षतामा गठित निर्माण उपभोक्ता समितिले वजेट स्टिमेटभन्दा गुणस्तरमा सडक स्तरोन्नती गर्ने दावी गरेका छन् । दिक्तेल–खार्मी–वास्पानी–वाक्सिलाको सवैभन्दा छोटो दुरीको सडक भए पनि सवै निकायवाट वेवास्ता हुँदै आएको स्थानीय वताउँछन् ।

उक्त सडक सञ्चालनका लागि वर्षेनी स्थानीय युवाहरु आफै जुट्दै आएको निर्माण उपभोक्त समितिका अध्यक्ष हेमन्त राईको भनाई छ । उहाँका अनुसार कोरोना प्रकोपका कारण लकडाउन अगावै धेरै युवाहरु गाउँ फर्केर गाउँमै रहेका कारण यही समयमा सडक स्तरोन्नती कार्य गुणस्तरीय र सहज हुनेछ ।
स्तरोन्नती गर्न शुरु गरिएकोे सडकका लागि १५ लाख रुपैंयाँ अति कम हुने भएकाले सवैसँग आर्थिक तथा श्रमदानको अपेक्षा र अनुरोध गरिएको अध्यक्ष राई वताउनुहुन्छ ।