खोटाङ बैशाख–२५, खोटाङको मुख्य व्यापारिक केन्द्र दिक्तेलवजारको सडक ढलान गर्न शुरु गरिएको छ । सरकारले लागू गरेको ‘लकडाउन’को अवधिमै सामाजिक दूरी कायम गर्दैे सडक ढलानको काम शुरु गरिएको हो ।
शहरी विकास तथा भवन निर्माण विभाग विराटनगरको पाँच करोड रुपैंयाँ लगानीमा यहि असार मसान्तमा काम सम्पन्न गर्नेगरी रत्नपार्कको किराँत चोकदेखि हाटडाँडातर्फ ७ सय मिटर सडक ढलान गर्ने काम अगाडी बढाईएको छ । साँघुरो तथा कच्ची अवस्थामा सञ्चालन हुँदै आएको दिक्तेलबजारको सडक ढलान गर्न अर्थ मन्त्रालयले गत पुस–२९ गते शहरी विकास मन्त्रालयलाई बजेट निकासा गर्न निर्देशन दिएको थियो । सडक ढलान गर्ने जिम्मा दिव्यज्योती–आइडी–रुजन जेभीले लिएको छ । सडकको लागि आवश्यक सामग्री ल्याइएकाले तोकिएकै मितिमा सम्पन्न गरेर सम्बन्धित निकायलाई बुझाउने योजनाका साथ कामलाई तीव्रता दिईएको निर्माण कम्पनीका प्रतिनिधि धु्रव श्रेष्ठले वताउनुभयो ।
दिक्तेलबजारको सडक ढलानमा करीब १५ करोड रुपैंयाँ खर्च हुने बिस्तृत परियोजना प्रतिवेदनमा उल्लेख छ । क्रमागत योजना भएकाले यस वर्ष पाँच करोड रुपैंयाँ बजेटको मात्र टेन्डर आह्वान गरेर ठेकेदार कम्पनीमार्फत ढलानको काम शुरु गरिएको प्रतिनिधिसभा सदस्य बिशाल भट्टराईले वताउनुभयो ।
लामो समयदेखि धुलाम्मे अवस्थामा सञ्चालन हुँदै आएको दिक्तेल बजारको सडक यसअघि पनि पटक/पटक ढलानको प्रयास गरिएको थियो ।
मध्यपहाडी लोकमार्गले छोएको दिक्तेलबजार ढिलै भएपनि ढलान हुने भएपछि स्थानीय बासिन्दासमेत हर्षित छन् ।