
खोटाङ — जिल्लामा ३७ करोडभन्दा बढीको सुन्तला उत्पादन भएको छ । पछिल्लो समय सुन्तला खेतीप्रति किसानको आकर्षण बढेपछि उत्पादनमा पनि वृद्धि भएको हो । सात सय ४२ हेक्टरमा यो वर्ष जिल्लाभर तीन हजार सात सय ३५ मेट्रिकटन सुन्तला उत्पादन भएको छ ।
कृषि ज्ञान केन्द्र खोटाङका कृषि प्रसार अधिकृत सन्जयकुमार पण्डितका अनुसार यो वर्ष ३७ करोड ३५ लाख मूल्य बराबरको सुन्तला उत्पादन भएको हो । ‘प्रतिकेजी एक सय रुपैयाँको दरले हिसाब गर्दा ३७ करोड ३५ लाख रुपैयाँ हुन आउँछ,’पण्डितले भने ।
पण्डितका अनुसार जन्तेढुंगा गाउँपालिकामा ५.६३ मेट्रिकटन, दिप्रुङ चुइचुम्मा गाउँपालिकामा ५.५० मेट्रिकटन, बराहापोखरीमा ५.३६ मेट्रिकटन, रावाबेंसी गाउँपालिकामा ५.२९ मेट्रिकटन, हलेसी तुवाचुङ नगरपालिकामा ५.२६ मेट्रिकटन, खोटेहाङ गाउँपालिकामा ५.२० मेट्रिकटन, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा ४.९० मेट्रिकटन, साकेला गाउँपालिकामा ४.५८ मेट्रिकटन, केपिलासगढी गाउँपालिकामा ४.४० मेट्रिकटन र ऐंसेलुखर्क गाउँपालिकामा ४.१३ मेट्रिकटन सुन्तला उत्पादन भएको छ ।
जन्तेढुंगा–६ दिप्लुङबाट मात्र एक करोडभन्दा बढीको सुन्तला निकासी भएको स्थानीय जगत राईले बताए । उनका अनुसार उक्त वडाको फगतपुर, चोभे, सातमारा, केराबारी लगायतको सुन्तलाबाट एक करोडभन्दा बढीको भित्रिएको हो । कसैले आफैंले बजारसम्म पुर्याएर बिक्री गरेको र कसैको बगानमै ठेकेदारले बेचेको उनले सुनाए । ‘मैले चाहिँ आफैंले बजार पुर्याएर छ लाख जतिको बेचे ।’ उनले भने, ‘कसैले चाहिँ बोटमै ठेकेदारलाई बेचे ।’
यो वर्ष भन्दा अर्को वर्ष अझै सुन्तला उत्पादन बढ्ने उनले सुनाए । सुन्तलाबाट राम्रो आम्दानी हुने भएपछि धेरैले व्यावसायिक रुपमा रोप्न थालेको राईले बताए । ‘मैले रोपेको पाँच सय बोटमध्ये दुई अढाई सयले उत्पादन दिन थालेको छ, अर्को वर्ष अरुले पनि उत्पादन दिन थाल्छ,’ उनले भने, ‘धेरै साथीहरुले पनि सुन्तला रोपेकाले अर्को वर्ष झनै उत्पादन बढ्छ ।’
जन्तेढुंगा-५ चिसापानीको घोर्ले एउटै गाउँबाट एक करोड बढीको सुन्तला निकासी भएको स्थानीय कृषक गान्दीप राईले बताए । उक्त वडाको वाचिपाला, खुुटा लगायतका गाउँबाट पनि उत्तिकै मात्रामा निकासी भएको उनको भनाइ छ । उनीहरुले बोटमै ठेकेदारलाई बेचेको राईले सुनाए । ‘मेरो ११३ बोट सुन्तला बोटमै साडे चार लाखमा बेचेँ,’ उनले भने, ‘बोटमै ठेकेदारलाई बेच्दा झन्जट पनि भएन, पैसा पनि एकमुष्ट आयो ।’
दिप्रुङ चुइचुम्मा–१ याम्खामा सुन्तला खेती गर्ने राम कुँवरको बगानमा भने यो वर्ष असिनाले क्षति पुर्याएकाले गत वर्षको तुलनामा यो वर्ष आधामात्र उत्पादन भएको छ । गत वर्ष १५ लाखको सुन्तला बेचेको तर यो वर्ष भने ८–९ लाख रुपैयाँको मात्र बिक्री हुने अनुमान गरेका छन् ।
अहिले दिक्तेल र गाइघाटमा बिक्री भइरहेको उनको भनाइ छ । ‘यो वर्ष सुन्तलाबाट कम्तीमा २० कमाउने इच्छा थियो तर असिनाले खत्तम गरिदियो,’उनले भने । उनले लगाएको पाँच सय बोट सुन्तलामध्ये एक सय ३० बोटले उत्पादन दिन थालेको छ । अर्को वर्ष अरु बोटले पनि उत्पादन दिन थाल्ने भएकाले थप आम्दानी बढ्ने उनको भनाइ छ । रावाबेंसीमा पनि सुन्तलाबाट राम्रै आम्दानी भएको वडा नं २ खार्पाका राजबहादुर मगरले बताए । ‘सुन्तलाबाट वर्षभरि माछा–मासु र अन्य खाने कुराका लागि पुग्छ,’ उनले भने ।
अन्य स्थानीय तहहरुमा पनि सुन्तलाबाट राम्रो आम्दानी भएको छ । जिल्लामा यातायातको सुविधा भएपछि बजारसम्मको पहुँच विस्तार भएपछि सुन्तला खेतीप्रति किसानको आकर्षण बढेको छ । खोटाङको सुन्तला स्वादिलो हुने भएकाले बजारको समेत समस्या नभएको कृषि प्रसार अधिकृत पण्डितले बताए । -इकान्तिपुर डटकमबाट