खोटाङ निवासी भ्लगर उमा चाम्लिङ राई भारतको सिक्किममा पक्राउ परेकी छन्। भिडिओ पोस्टमार्फत साम्प्रदायिक अशान्ति भड्काउने प्रयास गरेको आरोपमा भ्लगर राईलाई सदर प्रहरी स्टेशन गान्तोकले पक्राउ गरेको हो। उनलाई पुस १४ गते पक्राउ गरिएको जनाएको छ।

सिक्किम क्रोनिकलका अनुसार उनलाई अदालतमा पेश गरी थप अनुसन्धानका लागि पाँच दिन प्रहरी हिरासतमा राख्न अनुमति लिइएको छ। उनलाई सत्तारुढ सिक्किम क्रान्तिकारी मोर्चाकी सदस्य शिला राईले दिएको उजुरीका आधारमा प्रहरीले पक्राउ गरेको इन्डिया टुडे इनले उल्लेख गरेको छ।

समाजिक सञ्जालका लागि कन्टेन्ट क्रियटरका रुपमा परिचित राईले पुस १० मा वनझाँक्री बस्ने गुफा र पुस ११ मा चारधाम सिक्किम घुमफिरबारे भिडिओ सामग्री पोस्ट गरेकी थिइन्। त्यसअघि पुस ८ मा सिक्किमका पूर्व मुख्यमन्त्री पवन चाम्लिङसँग खिचाएको तस्वीर पोस्ट गरेकी थिइन्। सिक्किम बसाइका क्रममा उनले केही रिल र तस्वीरहरू पनि पोस्ट गरेकी छन्।

उनले सिक्किममा साकेला मनाउनका लागि भिडिओमार्फत आह्वान गरेकी थिइन्। त्यसैलाई आधार बनाएर पक्राउ गरिएको जनाएको छ।

सिक्किममा आगामी सन् २०२४ मा विधान सभा चुनाव हुँदै छ। सिक्किमको सत्तारोहणका लागि वर्तमान मुख्यमन्त्री एवं सिक्किम क्रान्तिकारी मोर्चाका पीएस गोले र पूर्व मुख्यमन्त्री एवं सिक्किम डेमोक्रेटिक फन्टका चाम्लिङ आमनेसामने हुँदै छन्। सिक्किम पुगेर त्यही विधान सभा चुनावका लागि पूर्व मुख्यमन्त्री चाम्लिङको पक्षमा मतदाता प्रभावित पार्न खोजेको आरोप लगाइएको छ।

सिक्किम क्रान्तिकारी मोर्चाले विज्ञाप्ति जारी गर्दै पूर्व मुख्यमन्त्री चाम्लिङको आडमा लेगसेपमा पुस १४ गते साकेला मनाउनका लागि भिडिओ निमन्त्रणा दिएको, राजनीति प्रेरित भएर सर्वसधारणलाई ध्रुवीकरण गर्न खोजेको आरोप लगाएको छ।

किरात राई समुदायले राईलाई पक्राउ गरेकोमा विरोध जनाएको छ। उनलाई रिहा गर्न माग गरेको छ। हिमालखबर डटकमबाट साभार