काठमाडौं । धरानका मेयर हर्क साङपाङ बेला बेला विवादमा आइरहने पात्र हुन् । उनी फेरि एक पटक विवादमा तानिएका छन् । उनको कार्यालयमा राष्ट्रपति र प्रधानमन्त्रीको फोटो हटाएर आफ्नै वंशको राजा यलम्बरको फोटो भित्तामा टाँसेपछि उनी विवादित बनेका हुन् ।

उनी राष्ट्रपति र प्रधानमन्त्रीको फोटो हटाएकोमा भन्दा पनि यलम्बरको फोटो राखेकोमा बढी विवादित बनेका छन् । सामाजिक सञ्जालमा एक प्रयोगकर्ताले उनलाई आफ्नै वंशजहरु भाई भतिजाको पनि फोटो राख्न भन्दै व्यंग्य समेत गरेका छन् ।

उनको निर्णयप्रति उनकै समुदायका धेरैले समर्थन गरेपनि आलोचना गर्ने पनि उत्तिनै पाइएको छ । जितेन राईले लोकतान्त्रिक गणतन्त्रले दिएको स्वतन्त्रतालाई यति सस्तो बनाउनु पनि अराजकता नै भएको बताएको छन् । विष्णु प्रसाद घिमिरेले राजतन्त्र नै ल्याउन भन्दै आक्रोश पोखेका छन् भने लक्ष्मण कँडेलले अराजकताको संज्ञा दिँदै राजीनामा समेत माग्न भ्याएका छन् ।

रविन्द्र कार्कीले काम गरेको राम्रै भएपनि उदण्ड र अराजकतालाई पनि सहिन भन्न नसकिने बताएका छन् । रोशन रावतले त स्थानीय तहको छोटे राजाको संज्ञा समेत दिन भ्याएका छन् ।