
खोटाङ बैशाख–२३, खोटाङमा बढीमा २५ जनाको उपस्थितिमा साकेला, देवाली लगायतका चाडवाड मनाउने निर्णय गरिएको छ । किरात राई समुदायको साकेला, हिन्दुधर्मावलम्बीको देवाली लगायतका चाडवाड नजिकिँदै गरेको अवस्थामा कोरोना भाइरस रोकथाम तथा नियन्त्रण जिल्ला समन्वय समितिको बैठकले विधि मात्र पूरा गर्ने गरी धार्मिक, सामाजिक, साँस्कृतिक चाडवाड मनाउन आग्रह गर्ने निर्णय गरेको हो ।
मंगलबार बसेको बैठकले साकेला, देवाली लगायतका चाडवाडलाई विधिका रुपमा मात्र मनाउन आग्रह गर्ने निर्णय गरिएको कोरोना भाइरस (कोभिड–१९) रोकथाम तथा नियन्त्रण जिल्ला समन्वय समितिका संयोजक एबं जिल्ला समन्वय समितिका प्रमुख बबी चाम्लिङले बताउनुभयो ।
बैठकमा सहभागी विभिन्न जातीय संगठनका प्रतिनिधिले पनि बढिमा २५ जनाको उपस्थितिमा आफ्नो चाडवाड मनाउने निर्णयमा सहमती जनाएका छन् । लकडाउनका कारण कतिपय हिन्दुधर्मावलम्बी समुदायले आफ्नो देवालीलाई महिना दिनपछि सारेको बताएका छन् ।
यसैबीच, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–५ लफ्याङस्थित लाफेहँछा सेवा समाजले बढिमा १५ जनाको उपस्थितिमा मात्र साकेला मनाउने निर्णय गरेको छ । हरेक वर्षको पूर्णीमाको दोश्रो दिन लफ्याङमा सयौंको उपस्थितिमा साकेला मनाउने गरिएकामा यसपल्ट लकडाउनलाई मध्यनजर गर्दै बढिमा १५ जनाको उपस्थितिमा मात्र साकेला पुज्ने निर्णय गरिएको हो ।