खोटाङ बैशाख–२३, खोटाङस्थित दिप्रुङ चुईचुम्मा गाउँपालिकाले दुबईमा रहेको अवस्थामा कोरोना संक्रमित वनेका आफ्ना दुई नागरिकको उपचार व्यवस्था मिलाउन माग गरेको छ । वैदेशिक रोजगारीमा रहेको अवस्थामा संक्रमित वनेका आफ्नो गाउँपालिकाका ४७ र ३६ वर्षीय नागरिकको उपचार हुन नसकेको भन्दै परराष्ट्र मन्त्रालयलाई अनुरोध गरेको हो ।

गाउँपालिका अध्यक्ष भूपेन्द्र राईका अनुसार केही दिनअघि कोरोना संक्रमण पुष्टि भएका दिपु्रङ चुईचुम्मा–१ याम्खाको दुबै जना मजदुरको उपचार समेत हुन नसकेकाले परराष्ट्र मन्त्रालयलाई अनुरोध गरिएको हो । उनीहरुलाई अहिलेसम्म क्वारेन्टाइनमा मात्र राखिएकाले स्वास्थ्य अवस्था जोखिममा पर्न सक्ने भएकाले अनुरोध उपचारका लागि गरिएको हो ।

उक्त गाउँपालिकाबाट वैदेशिक रोजगारमा जाने एक हजार ८७ मध्ये एक सय ५९ जनालाई कोभिड १९ का कारण समस्या परेको समेत अध्यक्ष राईले बताउनुभयो । उनीहरु तलव तथा रोजगारबाट समेत बन्चित हुनु परेकाले तत्काल उद्दार गरिदिन आग्रह गरिएको जनाईएको छ ।