खोटाङ बैशाख–२३, खोटाङस्थित खोटेहाङ गाउँपालिकाले कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका २९ लाख ४८ हजार रुपैयाँ रकमान्तर गरेको छ । कोरोना विरुद्द आवश्यक गतिविधि सञ्चालन गर्न गाउँपालिकाले विभिन्न योजना तथा कार्यक्रमको बजेट गाउँपालिकाको विपद व्यवस्थापन कोषमा जम्मा गर्ने निर्णय गरेको हो ।

गतिविधि सञ्चालनका लागि कर्मचारी र पदाधिकारी तालिम तथा अभिमुखीकरण शीर्षकको ३ लाख, अवलोकन भ्रमण कार्यक्रमको ५ लाख तथा न्यायिक समितिको पुर्नताजगी तालिमको ८ लाख रुपैंया बजेट विपद व्यवस्थापन कोषमा रकमान्तर गरेको गाउँपालिकाको अध्यक्ष प्रदिप राईले बताउनुभयो । यस्तै, सुरक्षित आप्रवासन परियोजना (सामी)को साझेदारी कार्यक्रमको ६ लाख ४८ हजार र अध्यक्ष कप भलिबल प्रतियोगिता तथा वार्षिकोत्सवको ७ लाख रुपैंयाँ बजेट समेत विपद व्यवस्थापन कोषमा रकमान्तर गरिएको अध्यक्ष राईले सुनाउनुभयो ।

लकडाउन पीडितलाई शहरमै राहत

बुधबार बसेको खोटेहाङ गाउँ कार्यपालिकाको बैठकले काठमाण्डौं लगायतका शहरमा लकडाउनको मारमा परेका पालिकाबासीलाई सोही स्थानमै राहत उपलव्ध गराउने निर्णय गरेको छ । शहरमा लकडाउनको मारमा परेका पालिकाबासीलाई घर ल्याउन पहल गरिएको थियो । तर, लकडाउन लम्बिएका कारण सहज परिस्थिति नभएसम्मका लागि यथास्थानमा राहत उपलव्ध गराउने निर्णय गरिएको अध्यक्ष राईको भनाई छ ।

काठमाडौंमा बसिरहेको अवस्थामा लकडाउनको मारमा परेका गाउँपालिकाका नागरिकलाई घर ल्याउनका लागि वडाध्यक्षमार्फत विवरण संकलन भइरहेको गाउँपालिकाले जनाएको छ । शहरबाट घर आउने व्यक्तिले कोरोना भाइरस रोकथाम तथा नियन्त्रण गाउँपालिका स्तरीय समन्वय समितिको शर्त अनिवार्य पालना गर्नु पर्ने जनाइएको छ ।