
खोटाङ २२ वैशाख । लकडाउन निरन्तरमा रुपमा थपिदैं गएपछि खोटाङ सदरमुकाम दिक्तेल बजारको ढलानको काम सुरु गरिएको छ ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका उपप्रमुख बिनादेवी राईले प्रशासन लगायत सम्बन्धित निकायहरूसँग सरसल्लाह गरी सामाजिक दुरी कायम गर्दै काम सुरु गरिएको जानकारी दिइन् । निर्माण व्यवसायीहरू ध्रुब श्रेष्ठ, सुनिल राई र कर्ण खत्रीले दुई दिन अघिदेखि रत्नपार्कको जिरो पोइन्टबाट रिटेनिङ वाल लगाएर सुरु गरेका छन् ।
उपप्रमुख राईले सामाजिक सञ्जाल फेसबुमा लकडाउनकै बीचमा हाम्रो एउटा सपना पूरा हुने दिशातिर पुगेको बताएकी छन् । उनले यो कार्यक्रम ल्याउन सहयोग गर्नुहुने माननीय विशाल भट्टराई लगायत नेताहरू, अर्थमन्त्री मा. डा. युवराज खतिवडालाई विशेष धन्यवाद समेत दिएकी छिन् । ढलानका लागि अर्थ मन्त्रालयले बजेट निकाशा गरेसँगै काम सुरु हुँदै गर्दा बिचमा लकडाउनका कारण रोकिएकोमा पुनः सुरु भएको हो ।