
काठमाडौं १८ वैशाख । खोटाङका आधा दर्जन बढी पालिकाहरुले अलपत्र परेका खोटाङेहरुलाई गाउँ फर्काउने योजना स्थगित गरेका छन् । गृह मन्त्रालयले लकडाउन कडाई गर्न निर्देशन दिँदै स्थानीय तहको सिफारिसका सवारी समेत चल्न नदिने निर्णय गरेसँगै खोटाङेहरुले अहिलेकै अवस्थामा गाउँ फर्कन नपाउने भएका छन् । स्थानीय तहहरुले गाउँ फर्काउने योजना तत्कालका लागि स्थगित भएको जनाएका छन् । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका, साकेला गाउँपालिका, रावावेशीं गाउँपालिका, केपिलाशगढी गाउँपालिका, ऐसेलुखर्क गाउँपालिका लगायतले अलपत्र परेका पालिकाबासीहरुलाई गृहस्थान फर्काउने तयारी गरेका थिए । गृहकाे निर्देशनपछि सबै तयारी स्थगित भएका छन् ।
जिल्ला फर्काउन नसकिने भयो : सांसद भट्टराई
खोटाङका सांसद तथा प्रतिनिधिसभा सदस्य विशाल भट्टराईले बुधबार गृहमन्त्रालयका अधिकारीसँग जिल्लाबासीलाई जिल्ला फर्काउने विषयमा छलफल गरेका थिए । सांसद भट्टराईले गृह मन्त्रालयका उच्च अधिकारीसँगको छलफलपछि अहिलेलाई जो जहाँ बसेको छ त्यहीँ बस्न जिल्लाबासीलाई आग्रह गरेका छन् । ‘सरकारले लकडाउन कडाई गर्ने निर्णय गरेको छ, अहिलेलाई कहीँ जान नदिने भएकाले कसैलाई फर्काउन नसकिने स्थिति छ ।’ उनले हाम्रोखोटाङ डटकमसँग भने ।
सांसद भट्टराईले अति नै अप्ठ्यारोमा परेकाहरुलाई राहतका लागि सहजीकरण गर्ने जनाएका छन् ।
१८ र १९ गते दिक्तेल फर्काउने कार्यक्रम बन्द
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले १८ र १९ गते अलपत्र परेका नगरबासीलाई गृहस्थान फर्काउने कार्यक्रम रद्ध गरेको छ । नगरप्रमुख दिपनारायण रिजालको सचिवालयले काठमाडौबाट बिद्यार्थीहरु, श्रमिकहरु, अशक्त र बिरामी पहिचान गरि बैशाख १८र १९ गते ल्याउने निर्णय गरेको तर हाललाई गृह मन्त्रालयले पुर्ण रुपमा आवागमन बन्द गरेको हुनाले अर्को सूचना नआएसम्म उल्लेखित नगरबासीहरुलाई ल्याउन नसकिने जानकारी गराएको छ ।
लकडाउन थाेरै खुकुलाे हुन साथ फर्काउछौं : अध्यक्ष खड्का
साकेला गाउँपालिका अध्यक्ष झंकर खड्काले लकडाउन केही खुकुलो भए लगत्तै अलपत्र परेकाहरुलाई गाउँ फर्काउने बताएका छन् । अहिले गृह मन्त्रालयले कडाई गरेकाले फर्काउन नसकिएको भन्दै थाेरै सहज हुन साथ फर्काइने बताए ।