काठमाडौं १५ चैत । दिक्तेल रुपकोट मझुवागढी नगरपालिको यहीँ १८ र १९ गते काठमाडौं उपत्यकामा भएकाहरुलाई नगर फर्काउने निर्णय गरेको छ । विद्यार्थी, अस्पतालबाट डिस्चार्ज भएका व्यक्ति, अशक्त व्यक्ति र दैनिक ज्याला तथा श्रम गर्ने र अहिले अलपत्र परेकाहरुलाई आगामी १८ र १९ गते नगर फर्काउने निर्णय भएको नगरप्रमुख (मेयर) दिपनारायण रिजालले हाम्रोखोटाङ डटकमलाई जानकारी दिए ।

मेयर रिजालका अनुसार काठमाडौं उपत्यका आसपास रहेकाहरुले अब गृहस्थान फर्कन चाहेमा वडाअध्यक्ष तथा वडाले दिने व्यक्तिसँग सहजीकरण गर्नुपर्नेछ । प्रत्येक वडाले पाँच÷पाँच जनाको नाम सहजीकरणका लागि दिने र उनीहरुले गृहस्थान फर्कन सहयोग गर्नेछन् ।

यसरी नगर तथा गाउँ फर्कनेहरुको स्वास्थ्य जाँच अनिवार्य गरिएको छ भने १४ दिनसम्म अनिवार्य रुपमा क्वारेन्टाइनमा बस्नुपर्नेछ । सरकारले कोरोना भाइरस नफैलियोस् भनेर नियन्त्रणका लागि गत ११ चैतदेखि लकडाउन गर्दै आएको छ । सरकारले पछिल्लो पटक २५ वैशाखसम्म लकडाउनको अवधी थपेको छ । विद्यार्थी तथा श्रमिकहरु अप्ठ्यारोमा पर्न थालेपछि उनीहरुले गृहस्थान फर्कन पाउने माग गर्दै आएका छन् ।