खोटाङ बैसाख–१४, काठमाण्डौंमा बसिरहेका नगरबासीलाई बसकै व्यवस्था गरेर घर ल्याएको भन्दै खोटाङस्थित हलेसी तुवाचुङ नगरपालिकाको आलोचना भएको छ । गत बैसाख ७ गतेको बैठकमा जिल्लाका नाकामा आवत–जावत गर्न बन्द गर्ने÷गराउने निर्णय भए पनि नगरपालिकाले बिहिबार र शुक्रबार २५ वटा बस रिजर्भ गरेर १ हजार ३ सय ६९ नागरिकलाई भित्र्याएको भन्दै नोबेल कोरोना भाइरस रोकथाम तथा नियन्त्रण जिल्ला समन्वय समितिको बैठकमा आलोचना भएको हो ।

शहरमा बसिरहेका सर्वसाधारणबाट गाउँमा कोरोना भाइरसको संक्रमण पनि भित्रिने भन्दै समितिका सदस्यहरुले आपत्ती जनाएका छन् । लकडाउनको अवधिमा पनि कतिपय केन्द्रीय स्तरका नेता तथा स्थानीय तहले शहरमा अलपत्र नागरिकलाई गाउँ लगिरहेको अवस्थामा हलेसी तुवाचुङ नगरपालिकाले पनि नगरबासीलाई घर ल्याएको थियो । जिल्लाका नाकामा आवत–जावतमा रोक लगाउने निर्णयमा हस्ताक्षर गरेर फर्किएपछि बैठकको निर्णयलाई कुल्चने काम भएको भन्दै हलेसी तुवाचुङ नगरपालिकाका मेयरको आलोचना भएको नोबेल कोरोना भाइरस (कोभिड–१९) रोकथाम तथा नियन्त्रण जिल्ला समन्वय समितिका संयोजक एबं जिल्ला समन्वय समितिका प्रमुख बबी चाम्लिङले बताउनुभयो । बैठकमा हलेसी तुवाचुङ नगरपालिकाका प्रतिनिधिको भने उपस्थिति थिएन ।

बैठकले स्थानीय एबं शहरबाट भित्रिएका सर्वसाधारणको यथाशिघ्र स्वास्थ्य परीक्षण गर्दै स्वास्थ्य सुरक्षाको ग्यारेन्टीमा ध्यान दिन हलेसी तुवाचुङ नगरपालिकालाई अनुरोध गर्ने निर्णय गरेको छ । यस्तै, काठ्माण्डौंबाट अन्य स्थानीय तहले पनि सर्वसाधारणलाई घर ल्याउने तयारी गरिरहेको पाइएकाले अत्यावश्यक काममा बाहेक घर ल्याउने कामलाई प्रोत्साहित नगर्न स्थानीय तहलाई अनुरोध गर्ने निर्णय गरिएको चाम्लिङको भनाई छ ।

हाल बसिरहेको ठाउँमा लकडाउनका कारण दैनिक आयमुलक काम गर्न नपाएको तथा घर आउन पनि नपाएको अवस्थामा समस्यामा परेको गुनासो आएकाले हलेसी तुवाचुङ नगरपालिकाले होम क्वारेन्टीनमा राख्ने गरी नगरबासीलाई घर ल्याएको जनाएको छ ।
जिल्लाको रावाबेँसी गाउँपालिका, ऐसेलुखर्क गाउँपालिका र साकेला गाउँपालिकाले पनि आफ्नो नागरिकलाई काठ्माण्डौंबाट घर ल्याउने तयारी गरिरहेको छ ।
हलेसी तुवाचुङ नगरपालिकाले शहरमा बसिरहेका स्थानीयलाई आफैले गाउँमा ल्याए पनि जिल्लाकै अन्य स्थानीय तहका सर्वसाधारण समेत आफै घर भित्रिरहेको जयरामघाट नाकामा स्थापना गरिएको हेल्थडेस्कको तथ्यंकमा उल्लेख छ ।

होम क्वारेण्टाईन छाड्ने दुई युवतीलाई क्वारेण्टाईनमा राखियो

होम क्वारेन्टाइनमा वस्ने सर्तमा गाउँ ल्याईएका खोटाङका दुई युवती गाउँ निस्किएपछि प्रहरीले नियन्त्रणमा लिएको छ । आचारसंहिता पालना गर्दै १४ दिनसम्म होम क्वारेण्टाईनमा वस्ने कवुलियतीनामा गराई काठमाण्डौंवाट नगरपालिका भित्र्याईएका हलेसी तुवाचुङ नगरपालिका–८ धितुङका १७ र २१ वर्षीया युवतीलाई शुक्रवार नियन्त्रणमा लिईएको हो ।

नियन्त्रणमा लिईएको दुवै जनालाई शनिवार हलेसी तुवाचुङ नगरपालिका–८ स्थित दलित जनजागरण आधारभूत विद्यालय धितुङको क्वारेण्टाईनमा राखिएको मेयर ईवन राईले वताउनुभयो । सवै सर्वसाधारणलाई घरमै बस्ने कवुलियतीनामा पत्रमा सही गरेर ल्याइएको भए पनि हिडडुल गरिरहेको सूचनाका आधारमा दुई युवतीलाई नियन्त्रणमा लिइएको ईलाका प्रहरी चौकी हलेसीका प्रहरी निरीक्षक दिनेश प्रसाद खरेलले जानकारी दिनुभयो ।

नगरपालिकाकै खर्चमा गाउँ फर्काईएका सर्वसाधारणले १० बुँदे कबुलियतनामामा सही गरेका छन् ।