खोटाङ १३ वैशाख । काठमाडौं उपत्यका लगायत विभिन्न ठाउँमा अलपत्र परेका साकेला गाउँपालिकाबासीलाई आफ्नो गृहस्थान फर्कन गाउँपालिकाले सहजीकरण गर्ने निर्णय गरेको छ ।
गाउँपालिकाका अध्यक्ष झंकर खड्काको नेतृत्वमा शुक्रबार सबै वडाअध्यक्षसहित बसेको बैठकले मापदण्ड पूरा गरी घर फर्कन चाहनेलाई सहजीकरण गर्ने निर्णय गरेको हो । विशेष गरेर काठमाडौं उपत्यकामा रहेकाहरुले गाउँ फर्कन चाहेमा उनका गाउँमा रहेका आफन्तले वडाले प्रदान गर्ने फर्म भुर्नपर्ने भएको छ । उक्त फर्म अनुसार वडाले गाउँ फर्कनका लागि सहजीकरण गर्ने भएको हो । अध्यक्ष खड्का अनुसार आज सबै वडाहरुमा फर्म पठाइनेछ । गाउँमा भएका आफन्तले उक्त फर्म भरेपछि त्यसको आधारमा फर्कन पाउने भएका छन् ।
गाउँपालिका तथा वडाहरुले घर फर्कन सहजीकरण गर्ने भए पनि यातायात खर्च भने स्वयम् फर्कन चाहनेले बेहोर्नु पर्ने भएको छ । अति विपन्न र तिर्नै नसक्ने परिवारका हकमा भने आर्थिक स्थिति हेरेर स्थानीय सरकारले राहत दिन सक्ने जनाइएको छ ।
क्वारेन्टाइन बस्नैपर्ने
गाउँ फर्कन चाहनेले क्वारेन्टाइनमा अनिवार्य रुपमा बस्नुपर्ने निर्णय समेत भएको छ । सबै वडामा रहेका विद्यालयहरुलाई क्वारेन्टाइनमा बदल्ने निर्णय भएको र आफूलाई सहज हुने ठाउँमा अनिवार्य रुपमा क्वारेन्टाइन बस्नुपर्ने गाउँपालिका अध्यक्ष खड्काले हाम्रोखोटाङलाई जानकारी दिए । क्वारेन्टाइन अवधीभरको व्यवस्थापकिय खर्च भने सम्बन्धित व्यक्तिका परिवारले बेहार्नुपर्ने भएको छ । फर्म भर्दा नै व्यवस्थापनको जिम्मा लिने सम्झौता गरेपछि मात्र गाउँ फर्कन पाइने भएको छ ।
नाजुक अवस्था भएका परिवारको पहिचान गरेर वैकल्पिक व्यवस्था गर्ने समझदारी पनि भएको छ । क्वारेइन्टाइनमा सम्बन्धित व्यक्ति बसे नबसेकोबारे अनुगमन समेत हुने भएको छ । अनुगमनका लागि टोलस्तरमा संयन्त्र बनाउने निर्णय भएको छ । वडा सदस्यको नेतृत्वमा एक जना शिक्षक अनिवार्य रुपमा राख्ने, एक जना महिला स्वयसेविका, एक जना टोल विकास समिति संयोजक र आमा समूहको एक जना प्रतिनिधि सम्मिलित संयन्त्र बनाइने भएको छ । संयन्त्रले अनुगमन, समन्वय निगरानी र जनचेतना जगाउने काम गर्नेछ ।
जथाभावी पठाइए वा फर्किए कारबाही
जथाभावी रुपमा गाउँ फर्किए वा बाहिरबाट अनाधिकृत रुपमा कसैले मान्छे पठाए सम्बन्धिन व्यक्ति नै जवाफदेही हुनु पर्ने भएको छ । त्यस्तो हकमा कानुनी कारबाही समेत हुने भएको छ । अध्यक्ष खड्काले अनुसार फर्म नै नभरी र स्थानीय सरकारलाई जानकारी अनाधिकृत रुपमा कसैलाई गाउँ पठाइए वा फर्किए कारबाहीसम्म हुने जानकारी दिए ।