खोटाङ ११ वैशाख । विश्वभरी महामारीको रुपमा फैलिएको कोरोना भाइरससँगै लकडाउनमा विभिन्न ठाउँमा अलपत्र परेकाहरुको विषयमा छलफल गर्न साकेला गाउँपालिकाले सर्वपक्षीय बैठक बोलाएको छ ।
साकेला गाउँपालिका अध्यक्ष झंकर खड्काले भोलि (शुक्रबार) सबै वडा प्रमुखहरुसहित सर्वपक्षीय बैठक बोलाइएको र के कसरी अघि बढ्ने भन्ने विषयमा निर्णय हुने जानकारी दिए । अध्यक्ष खड्काले सरकारले घोषणा गरेको लकडाउन अवधी १५ वैशाखसम्म पालिकाबासी जो जहाँ भएपनि त्यहीँ बसीदिन र त्यसपछि स्थितिको मुल्यांकन गरेर उचित निर्णय गरिने जानकारी दिएका छन् । ‘१५ वैशाखसम्म धैर्य गरौं र त्यसपछिको स्थिति हेरेर उचित निर्णय गरौं भन्ने मेरो व्यक्तिगत धारणा हो, भोलिको बैठकमा छलफल गछौं ।’ उनले हाम्रोखोटाङ डटकमसँग भने ।
विगत ११ चैत २०७६ देखि सरकारले लकडाउन गर्दै आएपछि श्रमिक, मजदुर, तथा विद्यार्थीहरुले आफ्नो गृहस्थान फर्कन चाहिरहेका छन् । कतिपय पालिकाहरुले अलपत्र परेका पालिकाबासीहरुको उद्धारको काम पनि गर्दै आएका छन् ।