खोटाङ बैशाख–११, ‘लकडाउन’का कारण चरम समस्या झेल्दै शहरवाट गाउँ फर्किरहेका सर्वसाधारणलाई खोटाङका चार युवाले खाजा र पानी उपलव्ध गराएको छ । लकडाउन लम्विँदै जाँदा शहरमा खर्च अभाव लगायतका समस्या झेल्नु परेपछि भोकतिर्खै पैदल हिँडेर जिल्ला फर्किरहेकाहरुलाई युवाहरुले खाजापानी उपलव्ध गराएका हुन् ।

थकान, भोक, तिर्खा र निन्द्रा सहँदै पैदलै घर फर्किरहेका सर्वसाधारणलाई युवा व्यवसायी एबम् युवा नेता भिषण राई, बिराज आचार्य, प्रकाश थापा र किरण राईले ५० काटुन चाउचाउ र ६० काटुन मिनरल वाटर उपलव्ध गराएको हो । यस्तै, युवा व्यवसायी रुजन खत्रीले दिक्तेलबाट जयरामसम्म राहतका सामग्री पु¥याउन सवारी साधन उपलव्ध गराएका छन् ।

युवाको समुहले बुधबार साँझ खोटाङ प्रवेश गर्ने प्रमुख नाका जयरामघाटमा पुगेर खाजापानी उपलव्ध गराएका हुन् । सर्वसाधारणलाई वितरण गर्ने गरी हलेसी तुवाचुङ नगरपालिकाका मेयर इवन राई र हलेसी तुवाचुङ नगरपालिकाका–१ बाहुनीडाँडाका वडाध्यक्ष रुद्र राईलाई पानी र चाउचाउ हस्तान्तरण गरिएको हो । जिल्लाको प्रमुख नाकामा आइपुगेका सर्वसाधारण खाजा र पानी नपाएर कष्ट भोग्न बाध्य भएको जानकारी आएपछि केही घण्टाभित्रै समन्वय गरेर राहत जुटाइएको राहत अभियानमा समन्वय गरेका युवा नेता सञ्जयकुमार राईले बताउनुभयो ।

मुलुकभर ‘लकडाउन’ गरे पनि हाल काठ्माण्डौंबाट सयौं सर्वसाधारण जिल्ला भित्रिरहेका छन् । बुधबार मात्र हलेसी तुवाचुङ नगरपालिकाको ७१ जना र अन्य पालिकाको ५० जना स्थानीय जिल्ला प्रवेश गरेका छन् । कतिपय रातको २/३ बजे पनि जिल्ला प्रवेश गर्ने गरेको जयराम नाकामा हेल्थडेस्कमा खटिएका अहेव मदन पण्डितले सुनाउनुभयो ।हाल वाटोमा पर्ने पसल तथा होटलहरु प्रायः वन्द हुने प्रहरी वताउँछन् ।

सर्वसाधारण रातारात पैदल हिँडेर ४ देखि ७ दिनसम्ममा काठमाण्डौंवाट जिल्ला आईपुग्ने गरेको पाईएको हलेसी तुवाचुङ नगरपालिकाका मेयर ईवन राईले जनाउनुभयो ।