खोटाङ । खोटाङ सदरमुकाम दिक्तेलस्थित रत्नपार्कका आगलागी पीडितलाई खोटाङ उद्योग वाणिज्य संघले झण्डै ३ लाख राहत रकम प्रदान गरेको छ ।

आगलागी भएकै दिन १० हजार रुपैयाँ प्रदान गरेको संघले विपद व्यवस्थापन राहत कोषमार्फत २ लाख ९१ हजार सोमबार प्रदान गरेको हो ।

संघले रत्नपार्कका कृष्णकुमार श्रेष्ठलाई भने ३ लाख १ हजार आर्थिक सहयोग प्रदान गरेको छ । उनी संघको साधारण सदस्य भएकाले उक्त रकम प्रदान गरेको संघले जनाएको छ । संघले आफ्नो सदस्यबाट ५ सयका दरले विपत कोषमा रकम जम्मा गर्ने गरेको छ ।

यसैगरी, सिद्धलक्ष्मी बचत तथा ऋण सहकारी संस्था लिमिटेडले रमेश खत्री र भावनादेवी श्रेष्ठलाई जनही ७ हजार ५ सयका दरले आर्थिक सहयोग प्रदान गरेको छ ।

२३ कात्तिकका दिन बिहान ३ बजे अम्बिका बुढाथोकीको घरबाट सुरु भएको आगोका कारण श्रेष्ठ र बुढाथोकीको घर पूर्ण र अन्य तीन घरमा आंशिक क्षति पुगेको थियो । आगालागीबाट तीन करोडको क्षति भएको अनुमान गरिएको छ ।