खोटाङ बैशाख–५, खोटाङस्थित दिप्रुङ चुईचुम्मा गाउँपालिकाले शहरमा ‘लकडाउन’को मारमा परेका गाउँपालिकावासीका लागि राहतको प्याकेज ल्याएको छ । गाउँपालिकावाट काठमाडौं, बिराटनगर, धरान लगायत जिल्लाभन्दा बाहिरका शहर बजारमा ‘लकडाउन’को मार खेपिरहेका श्रमिक तथा विद्यार्थीहरुका लागि गाउँपालिकाले डेरा–डेरामै राहत पु¥याईदिने प्याकेज ल्याएको हो ।

सरकारले लगाएको ‘लकडाउन’का कारण शहर बजारमा बिचल्नीको अवस्थामा पुगेका आफ्नो गाउँपालिकाका श्रमिक मजदुर तथा विद्यार्थी लगायतको सहजताका लागि राहतका प्याकेज ल्याइएको गाउँपालिकाका अध्यक्ष भूपेन्द्र राईले बताउनुभयो । ‘लकडाउन’का कारण दैनिक ज्यालादारीका काम गर्न नपाउँदा मारमा परेका मजदुर तथा विद्यार्थीलाई तत्तत् स्थानमा राहत उपलव्ध गराउने तयारी गरिएको गाउँपालिकाले जनाएको छ ।

विदेश जान लाग्दा ‘लकडाउन’ले काठ्माण्डौंमै अड्किएका तथा कोरियन लगायतका विदेशी भाषा अध्ययनका क्रममा शहर बजारमा रोकिएका पालिकाबासीका लागि समेत सो राहत प्याकेज उपलव्ध गराइने अध्यक्ष राईको भनाई छ । तर कर्मचारी वा अन्य कुनै पनि पेशा व्यवसायमा संलग्न व्यक्तीले भने राहत पाउने छैनन् । शहरबाट जसोतसो गाउँ आए ‘लकडाउन’को उल्लंघन हुने र क्वारेन्टीनमा बस्नुपर्ने भएकाले शहरमा बसिरहेका पालिकाबासीलाई कोठामै खाद्यान्न पु¥याइदिने तयारी गरिएको हो ।

शहर बजारमा बाँडिने राहत गाउँपालिकाबासीले नपाउने भएकाले गाउँबाट शहरमा राहत पठाउन लागिएको अध्यक्ष राईले सुनाउनुभयो । गाउँपालिकाले ‘लकडाउन’को मारमा परेका पालिकाबासीलाई हाल बसिरहेकै ठाउँमा राहत पु¥यााउनका लागि फोकल पर्सनलाई सम्पर्क गर्न आग्रह गरेको छ । राहत प्याकेज लिनका लागि कर्मचारीहरु सञ्जिप आचार्यको सम्पर्क नम्बर ९८२५७७४७७४र९८४२८७७४३७, ओमसरा राई ९८६२८१४००९ र सुनिता राईको सम्पर्क नम्बर ९८२५७९५०५३ मा सम्पर्क गरेर आफ्नो विवरण उपलव्ध गराउन आग्रह गरिएको छ ।

लकडाउनमा दुःख पाएका नागरिकले बसिरहेकै ठाउँमा आवश्यक सेवा पाए मात्र राष्ट्रिय अभियानकारुपमा रहेको ‘लकडाउन’ सफल हुने अध्यक्ष राईको धारणा छ ।