खोटाङ चैत–२९, आइसोलेसन वार्डमा राखिएको अवस्थामा भागेपछि खोटाङको हलेसी तुवाचुङ नगरपालिका–५ दुर्छिममा फेला परेका एक पुरुषको स्वाव परीक्षण रिपोर्ट ‘नेगेटिभ’ आएको छ । कोरोना भाइरस (कोभिड–१९)को संक्रमणको आशंकामा कटारी आइसोलेसनमा राखिएको अवस्थामा गत चैत १४ गते भागेका पुरुषको स्वाव परीक्षण रिपोर्ट नेगेटिभ देखिएको हो ।

दुर्छिमको हैदेमा आफन्तको घरमा फेला परेका उदयपुरको ताप्ली गाउँपालिका–४ ठानागाउँका नेपाली थरका ३९ वर्षीय पुरुषमा कोरोना भाइरसको रिपोर्ट नेभेटिभ देखिएको खोटाङका प्रमुख जिल्ला अधिकारी शालिग्राम शर्मा पौडेलले बताउनुभयो । चैत २३ गतेदेखि स्वास्थ्यचौकी दुर्छिमको क्वारेन्टीनमा राखिएका नेपालीको स्वाव परीक्षणका लागि बिहिबार विपि कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएको थियो ।

भारतको सिलीगुढी हुँदै काँकडभिट्टाबाट घर फर्कनेक्रममा नेपालीलाई चैत १२ गतेदेखि कटारी अस्पतालको आइसोलेसनमा राखिएको थियो । उनको सम्पर्कमा रहेका कारण हैदेका दुई परिवारका आठ जना समेतलाई क्वारेन्टीनमा राखिएको छ । नगरपालिकाका स्वास्थ्य शाखा संयोजक प्रकाश घिमिरेले पनि नेपालीको नमूना परीक्षण रिपोर्ट नेगेटिभ आएको बताउनुभयो ।

यसअघि गत चैत ४ गते कतारबाट नेपाल फर्किएका खोटाङका दुई मध्ये जन्तेढुंगा गाउँपालिका–३ का राई थरका युवाको नमूना परीक्षण रिपोर्ट नेगेटिभ देखिएको थियो । फ्रान्सबाट कतार हुँदै नेपाल आएकी एक युवतीमा कोरोना संक्रमण भएको पूष्टी भएपछि तिनै युवतीसँग कतारबाट काठ्माण्डौंसम्मको यात्रा गरेका उनको स्वाव परीक्षणका लागि चैत २१ गते राती धरान पु¥याइएको थियो । सोही जहाजबाट फर्किएका केपीलासगढी गाउँपालिकाका एक जना भने धरानमा क्वारेन्टीनमा राखिएका छन् ।