खोटाङ चैत्र–२९, भिजिट भिसामा यूएई पुगेको अवस्थामा ज्यान गुमाएका खोटाङ ऐसेलुखर्क गाउँपालिका–६ ज्यामिरेका २२ वर्षीय सुदिप तामाङको शव स्वदेश ल्याउन समस्या भएको छ । गत मार्च १३ तारिखका दिन ज्यान गुमाएका तामाङको शव कोरोना भाइरसको महामारीका कारण अन्तराष्ट्रिय उडान बन्द हुँदा स्वदेश फर्काउन समस्या भएको हो ।

कम्पनीमा आवद्ध हुनु अगावै ज्यान गुमाएका तामाङको शव हाल रसिदिया अस्पताल दुबईमा राखिएको छ । उनको हृदयघातका कारण मृत्यु भएको अस्पतालको रिपोर्टमा उल्लेख छ । ‘लकडाउन’ सुरु भएपछि मात्र तामाङको मृत्यु भएको जानकारी प्राप्त भएकाले यस अवधिमा शव नेपाल पठाउन नसकिएको खोटाङ सेवा समाज यूएईका अध्यक्ष हिमाल गुरुङले बताउनुभयो ।

तामाङको शव निकाल्नका लागि अस्पतालले पटक–पटक फोन गरिरहेको भए पनि ‘लकडाउन’का कारण उडान नहुँदा शव अस्पतालमै राखिएको छ । भिजिट भिसामा यूएई गएको र कम्पनीमा आवद्ध भइनसकेकाले तामाङको शव नेपाल ल्याउनका लागि नेपाली दुताबासले पनि अपेक्षित सहयोग गर्न नसकेको यूएईमा रहेका नेपालीको गुनासो छ । तत्काल ‘लकडाउन’ खुल्ने सम्भावना नभएको र अस्पतालले बारम्बार शव हटाउनका लागि फोन गरिरहेकाले शव यूएईमै अन्त्येष्टी गर्नुपर्ने बाध्यता आएको हिराधन चाम्लिङले बताउनुभयो ।

परिवारमा एक्लो छोरा रहेका उनको रोजगारीका सिलसिलामा यूएई पुगेको केही समयपछि मृत्यु भएको हो । परिवारले भने सुदीपको शव नेपाल ल्याउनका लागि याचना गरिरहेका छन् । उनको शव घरसम्म ल्याउने वातावरण मिलाइदिनका लागि परिवारले पटक–पटक आग्रह गरिरहेको चाम्लीङको भनाई छ ।

उडान नहुँदा यूएईमा ११ नेपालीको शव रोकिएको जनाइएको छ ।