खोटाङ कात्तिक–२८, खोटाङमास्थित दिक्तेल रुपाकोट मझुवागढी–९ निर्मलीडाँडा लामाखुमा सम्पन्न वृहत भलिवल प्रतियोगितामा साकेला गाउँपालिका–५ मात्तिम विजयी भएको छ । गत वर्षहरु जस्तै यो वर्षको दिपावलीमा प्रतिष्ठानले आयोजना गरेको प्रतियोगितामा प्रथम स्थान ओगटेको मात्तिमले नगद ५० हजार रुपैंयाँसहित मेडल हात पारेका छन् । 
गत २५ गतेदेखि सुरु भएको तीन दिने कार्यक्रममा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकास्थित दोर्पा स्पोर्ट क्लव दोर्पा दोश्रो तथा साकेला गाउँपालिका–१ वाँझेच्यान्डाडाँडाले तेश्रो स्थान हात पारेका छन् । दोश्रो र तेश्रो समुहले क्रमशः नगद ३० हजार र २० हजार रुपैंयाँको साथमा साथमा मेडल प्राप्त गरेका छन् । ११ समुह सहभागी वनेको प्रतियोगितामा दोर्पाका वलवहादुर भुजेल उत्कृष्ठ खेलाडी घोषित भएका छन् । 
नगरपालिका तथा गाउँपालिकाको वडा स्तरीय समुहलाई सहभागी गराईएको प्रतियोगिताको उद्घाटन तथा समापन समारोहमा वडाध्यक्ष हर्कराज राई लगायतका स्थानीय जनप्रतिनिधि तथा समाजसेवीहरुको उपस्थिती रहेको आयोजकले जनाएका छन् । कार्यक्रममा राष्ट्रिय युवा कवि चन्द्र रानोहँछा लगायतका व्यक्तित्वहरुको समेत उपस्थिती रहेको वालाजित वशन्लक्ष्मी स्मृति प्रतिष्ठानको अध्यक्ष ऋषिधन राईले जनाउनुभयो । प्रतियोगिताको उद्घाटनमा विभिन्न नृत्य प्रस्तुति समेत गरिएको थियो ।