खोटाङ चैत२९,  खोटाङस्थित दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले दिक्तेलबजारमा कोरोना भाइरसको जिवाणु नष्ट गर्ने रसायन छर्किन शुरु गरेको छ । कोरोना भाइरस रोकथाम तथा नियन्त्रणको प्रयास स्वरुप नगरपालिकाले दिक्तेलबजारको रत्नपार्कदेखि सोडियम हाईपोक्लोराइड नामक डिसइन्फेक्ट्यान्ट छर्किन सुरु गरेको हो ।

शुक्रबार राती ८ बजेपछि दिक्तेलको जिरोपइन्टदेखि रत्नपार्क, संगमपार्क, पुरानो बेसक्याम्प, त्रिबेणीचोक, भवनगैरा लगायतका क्षेत्रमा सोडियम हाईपोक्लोराइड छर्किएको नगरपालिकाले जनाएको छ ।

हरेक वस्तुको सतहमा रहेका जिवाणु, भाइरस तथा व्याक्टेरिया मार्नका लागि बजारका घना वस्ती, बढि चहलपहल भएको क्षेत्र र संक्रमणको उच्च जोखिमकारुपमा शंका गरिएका ठाउँमा सोडियम हाईपोक्लोराइड छर्किन सुरु गरिएको नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख तीर्थराज आचार्यले बताउनुभयो ।

सर्वसाधारणको स्वास्थ्यलाई समेत ध्यानमा राखेर बिश्व स्वास्थ्य संगठन र नेपाल सरकार स्वास्थ्य मन्त्रालयले जारी गरेको निर्देशिका बमोजिम शुन्य दशमलव ५ प्रतिशतको घोल बनाएर औषधि छर्न थालिएको हो । दिक्तेलबजारका अन्य क्षेत्रमा पनि क्रमशः सोडियम हाईपोक्लोराइड स्प्रे गरिने नगरपालिकाले जनाएको छ ।

जिवाणु, भाइरस तथा व्याक्टेरिया नाश गर्नका लागि नगरपालिकाले २ सय २५ लिटर सोडियम हाईपोक्लोराइड ल्याएको जनाएको छ । एक लिटर सोडियम हाईपोक्लोराइडमा आठ लिटर पानी घोलेर कम्प्रेसर मेसिन प्रयोग गरेर बजार क्षेत्रमा छर्न थालिएको हो । नगरप्रमुख दिपनारायण रिजाल, उपप्रमुख बिणादेबी राई, प्रमुख जिल्ला अधिकारी शालिग्राम शर्मा पौडेल लगायतको टोलीले बजारमा सोडियम हाईपोक्लोराइड छर्केका हुन् । पहिलो दिन ५ लिटर सोडियम हाईपोक्लोराइड र पानीको घोल स्प्रे गरिएको छ । क्रमशः जिल्ला अस्पताल क्षेत्रमा पनि सोडियम हाईपोक्लोराइड छरिने नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख आचार्यको भनाई छ ।