दिप्रुङ चुईचुम्मा गाउँपालिकाद्वारा राहत वितरण

खोटाङ २८ चैत । खोटाङको दिप्रुङ चुईचुम्मा गाउँपालिकाले वडा नम्बर २ र ३ मा राहत वितरण गरेको छ । गाउँपालिकाले ‘लकडाउन’को मारमा परेका दलित, अल्पसंख्यक तथा सीमान्तकृत, एकल महिला, पूर्ण अपांग, विपन्न तथा सुकुम्बासी परिवारलाई खाद्यान्न वितरण गरेको हो ।
लकडाउनका कारण आयमूलक काम गर्न नपाउँदा छाक टार्नै समस्या परेको परिवारलाई गाउँपालिकाले शुक्रवार दिप्रुङ चुईचुम्मा गाउँपालिका–२ डाँडागाउँ र वडा नम्बर ३ छोरम्बुमा खाद्यान्न तथा तरकारी वितरण गरेको आइटी अफिसर मणिचन्द्र राइले जानकारी दिएका छन् ।
गाउँपालिकाले डाँडागाउँका १ सय ४ घरपरिवार र छोरम्बुका ८५ परिवारलाई राहत वितरण गरेको गाउँपालिकाले जनाएको छ । उनीहरुलाई प्रतिघर २५ केजी चामल, २ केजी दाल, एक पोका तेल, एक केजी नून र आलु, बन्दा प्रदान गरिएको हो । गाउँपालिकाले सामाजिक दुरी कायम राखेर राहत वितरण गरेको छ ।