
काठमाडौं । काठमाडौंबाट बाहिर जान चाहनेका लागि सरकारले भोलि र पर्सी खुल्ला गर्ने निर्णय नगरेकाे पाइएको छ । रक्षामन्त्री तथा कोरोना रोकथाम उच्चस्तरीय समितिका संयोजक ईश्वर पोखरेलकाे सचिवालयले लकडाउन स्ट्रिक्ली हुने बताउँदै भोलि र पर्सी बाहिर जान पाउने निर्णय नभएकाे जनाएकाे छ ।
‘बैठकमा यो विषयमा छलफल भएको हो, निर्णय नहुँदै यो कुरा बाहिर आएछ, तर कुनै निर्णय भएको छैन लकडाउन कडाइका साथ हुन्छ ।’ रक्षामन्त्रीका स्वकीय सचिवमध्येका एक प्रभात कटवालले जानकारी दिए । यसअघि, भोलि र पर्सी काठमाडौं बाहिर जान पाइने भन्ने कुरा आएको थियो ।
कोरोना रोकथाम उच्चस्तरीय समितिका संयोजक ईश्वर पोखरेलले बुधबार सम्बन्धित मन्त्रालयका मन्त्रीहरुसँग उपत्यकामा रहेकाहरुलाई बाहिर पठाउने विषयमा छलफल भने भएको थियो । तर, अन्तिममा नपठाउने र लकडाउन कडाईका साथ गर्ने निर्णय भएको बुझिएको छ ।