खोटाङ पुष–२ पूर्व संस्कृति मन्त्री गोपाल किरातीले पहिलो र दोश्रो जनआन्दोलनले पहिचान सहितको अधिकार प्राप्त नभएकाले तेश्रो जनआन्दोलन आवश्यक रहेको बताउनुभयो । मन्त्री किरातीले आईतबार साँझ खोटाङको दिक्तेलबजारस्थित किरात चौकमा भएको कोणसभालाई संवोधन गर्दै निर्णायक जनआन्दोलनको आवश्यकता बताउनुभएको हो ।

तेश्रो जनआन्दोलनका लागि आधार तय भइसकेको किरातीको भनाई छ । अधिकार प्राप्तीका लागि शहिद लाजेहाङले सहादत प्राप्त गरिसकेको उल्लेख गर्दै तमाम उत्पीडित समुदायले समेत आन्दोलनको आवश्यकता महसुस गरिसकेको मन्त्री किरातीले उल्लेख गर्नुभयो । पहिचान सहितको अधिकारका आन्दोलन अझ सशक्त हुने उहाँले जनाउनुभयो ।

 

 

किराती लगायतका पाँच जना मङ्सिर २६ गते र एक नम्बर प्रदेश पूनः नामाङ्कन संयुक्त संघर्ष समिति खोटाङका संयोजक युगसन किरात लगायत आठ जना पुस १ गते पक्राउ परेका थिए । उनीहरुमध्ये मङ्सिर २६ गते पक्राउ परेका पूर्व संस्कृति मन्त्री किराती लगायत राजेश राई, विजय राई, गन्धमान राई र उदिम चाम्लिङलाई अभद्र व्यवहारको मुद्दा लगाईएको थियो । उनिहरु जनही एक हजार रुपैयाँका दरले धरौटीमा छुटेका हुन् ।

पुस १ गते विहान पक्राउ परेका सर्घर्ष समितका जिल्ला संयोजक युगसन किरात, युवा संघर्ष समिति खोटाङका संयोजक तथा जनता समाजवादी पार्टीका जिल्ला उपाध्यक्ष निर्मल राई, संघर्ष समितिका जिल्ला सदस्य तथा जनता समाजवादी पार्टीका जिल्ला सचिव सुनिल राई लगायत अन्यलाई भने मुद्दा नचलाई रिहाई गरिएको हो । रिहा हुनेमा संघर्ष समितिका जिल्ला सदस्य तथा नेकपा एकीकृत समाजवादीकी जिल्ला सचिवालय सदस्य संगिता राई, संघर्ष समितिका जिल्ला सदस्यहरु सोनामहाङ राई, मेलिना राई, उपार्जुन राई, र लक्ष्मी राई छन् ।

पक्राउ परेका पहिचानपक्षधरहरु रिहाई भएपछि दिक्तेलबजारमा नाराबाजी गर्दै किरात चौकमा पुगेर कोणसभा गरेका हुन् ।