खोटाङ, मंसिर १९– विकास निर्माणको अवस्था पहिचानका लागि नेपाली कांग्रेस खोटाङले अभियान चलाउने भएको छ । शनिबार दिक्तेलस्थित पार्टी कार्यालयमा बसेको छैठौँ बैठकले बिकासको सवालमा देखिएका समस्या पहिचान गर्दै हल गर्नकालागि योजना बनाउन अभियान चलाउने निर्णय गरेको हो । एक महिने अभियानकाक्रममा सबै गाबिसका बिकासका समस्या, सम्भावना र चुनौतीका बिषयमा रिपोर्ट संकलन गर्ने तयारी गरिएको कांग्रेसले जनाएको छ ।
 बैठकले स्थानीय निकायको निर्वाचन लक्ष्यीत गर्दै संगठन बिस्तारलाई पनि तिब्रता दिने निर्णय गरेको छ । संगठन बिस्तार तथा बिकासको समस्या पहिचानकालागि पुस १४ गतेसम्म योजना बनाउने र पुस १५ देखि महिना दिनसम्म अभियान चलाउने कांग्रेसले जनाएको छ । माघ १५ सम्म जारी रहेका अभियानकाक्रममा एक गाबिसमा कम्तीमा ५ दिन बसेर गतिबिधि सञ्चालन गर्नुपर्ने छ । संगठन बिस्तार एबं बिकास निर्माणको अवस्था पहिचानकालागि कांग्रेसले जिल्ला र क्षेत्रीय समितिको नेतृत्वमा भातृ संगठनका प्रतिनिधि सामेल हुने टोली बनाउने जनाएको छ । हाल स्थानीय तहको संरचनाकाक्रममा देखिएको बिवाद हल गर्नकालागि कांग्रेसले स्थानीयको मागलाई स्थानीय तह पुःर्नसंरचना प्राविधिक सहयोग समितिमार्फत आयोगमा पठाउने निर्णय गरेको छ । 
कांग्रेसले मनोनित जिल्ला सचिवमा ज्ञानेन्द्र जोशीलाई मनोनित गरेको छ । यस्तै, संगठन विभाग शाखामा समिर राई, अभिलेख शाखामा प्रेमकुमार राई, तरुण तथा युवा शाखामा महन्तकुमार राई, कर्मचारी शाखामा तीर्थराज भट्टराई, शिक्षा शाखामा बसन्त राई, दलित शाखामा तुला विश्वकर्मालाई जिम्मेवारी दिएको छ । बैठकले ‘एक गाउँ एक सहकारी’ कार्यक्रम सञ्चालनका लागि बनेको खाकालाई तत्काल कार्यान्वयनमा ल्याउने निर्णय गरेको छ ।