खोटाङ मंसिर–३० , कोशी प्रदेश पूनः नामाङ्कनको माग राखी आन्दोलन गर्दै आएका पहिचानवादी पक्षधरले गरेको बन्दका कारण खोटाङमा लामो तथा छोटो दुरीको यातायात सेवा ठप्प बनेको छ । जिल्लाका पहिचान पक्षधरहरुले आव्हान गरेको यातायात बन्दका कारण जिल्लामा सार्वजानिक तथा नीजि सवारी साधन शनिबार बिहानैदेखि ठप्प बनेको हो ।

पुनः नामाङकन संयुक्त संघर्ष समिति खोटाङले नेकपा एमालेको ‘समृद्दिका लागि संकल्प यात्रा’लाई लक्षित गर्दै गत २६ गतेदेखि नै उदयपुरको घुर्मीदेखि भोजपुरको लेगुवाघाटसम्म अनिश्चितकालिन यातायात बन्दको आव्हान गरेको थियो । पहिचानको आधारमा नाम राख्नुपर्ने माग गरिरहेका आन्दोलनकारी समुहहरु दिक्तेलबजारको प्रबेशद्वारमा पर्ने किरातचौक लगायत बिभिन्न स्थानमा जम्मा भएका छन् ।

यता, एक नम्बर प्रदेश पुनः नामाङकन संयुक्त संघर्ष समितिले नै पनि शनिबार र आईतबार दुई दिन उक्त प्रदेशभरि यातायात बन्द घोषणा गरेको छ । घुर्मी–लेगुवाघाट अनिश्चितकालिन यातायात बन्दलाई सफल बनाउन निस्कँदा २६ गते पक्राउ गरि प्रहरी हिरासतमा राखिएका पुर्वमन्त्री किराती लगायतलाई रिहाई नगरेपछि यातायात बन्द आव्हान गरिएको संयुक्त संघर्ष समितिले उल्लेख गरेको छ ।

प्रहरीले मन्त्री किरातीसहित जसपा नेता एवं हलेसी तुवाचुङ युवा सहसंयोजक राजेश राई, जसपा नेता गन्धमान राई, हलेसी तुवाचुङ युवा सहसंयोजक विजय राईलाई खोटाङको हलेसीबाट र नुन्थलाबाट नेपाल आदिवासी जनजाति महासंघ खोटाङका महासचिव उदिम चाम्लिङ राईलाई पक्राउ गरेको थियो । जिल्लाबाट पक्राउ परेका मन्त्री किरातीसहितलाई अभद्र व्यवहार मुद्दामा पाँच दिनको म्याद थपी हिरासतमा राखेको छ ।

पक्राउ परेका नेताहरुलाई शुक्रबार राती १२ बजेसम्म बिना शर्त रिहा गर्न भन्दै शुक्रबार संघर्ष समिति खोटाङका संयोजक युगसन किरातसहितका पहिचानवादीले प्रमुख जिल्ला अधिकारी सन्तबहादुर सुनारलाई ज्ञापन पत्र समेत बुझाएका थिए ।
यस्तै, संघर्ष समिति झापा संयोजक पाण्डपलाल चौधरी लगायत भोजपुर, धनकुटा, तेह्रथुम, संखुवासभा, उदयपुरबाट पक्राउ परेका ३५ नेताहरु अझै छुटेका छैनन् । संघर्ष समिति झापा संयोजक चौधरी कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीलाई झापामा कालो झण्डा देखाएको आरोपमा बिर्तामोडबाट पक्राउ परेका थिए ।

अन्य समयभन्दा आज यातायातका साधनहरु तुलनात्मक रुपमा कम चलेको खोटाङका डिएसपी पुरुषोत्तम खड्काको भनाई छ । बिहानै भोजपुरबाट आएका केही गाडीलाई स्कटीङमा गन्तब्यतर्फ पठाईएको छ । प्रहरीलाई खबर गरेमा स्कटीङ गरेर गन्तब्यमा पठाईने भन्दै काठमाण्डौ तथा तराई जाने भएमा आफू खुशी यातायात नचलाउन आग्रह गर्नुभएको छ ।

संघर्ष समितिले कोशी नामकणका पक्षमा हस्ताक्षर गर्ने ८२ सांसद र पहिचानविरुद्ध अभिव्यक्ति दिएको भन्दै एमाले अध्यक्ष केपी शर्मा ओली, नेता योगेश भट्टराई र महेश बस्नेत लक्षित विराोधका कार्यक्रम गरिरहेको छ ।