आउन थाले नेता शिक्षकको राजीनामा

खोटाङ, मंसिर २१ । जिल्ला शिक्षा कार्यालय खोटाङले शिक्षालाई राजनितिरहित बनाउने अभियान थालेपछि नेता शिक्षकको राजीनामा आउन थालेको छ । कतिपय शिक्षकले विद्यालयलाईभन्दा राजनैतिक गतिबिधिलाई प्राथमिकता दिँदा शिक्षाको गुणस्तर खस्किएको निष्कर्ष सहित जिल्ला शिक्षा कार्यालयले सर्वदलीय बैठकबाट शिक्षकलाई राजनितीबाट टाढा राख्ने सर्वदलीय निर्णय गराएपछि नेता शिक्षकको राजीनामा आउन थालेको हो । 
कांग्रेसका जिल्ला सदस्यका रुपमा रहेका राष्ट्रिय प्रजातन्त्र आधारभूत बिद्यालय ऐसेलुखर्क–८ दिम्मापातेलका शिक्षक जीवनाथ दाहालले आईतबार शिक्षण पेशाबाट राजीनामा दिएका छन् । उनको राजीनामा पुस १ गतेबाट लागू हुनेगरी शिक्षा कार्यालयले स्वीकृत गरेको छ । शिक्षक र नेताको दोहोरो भूमीकामा नदेखिनकालागि राजीनामा दिएको शिक्षक दाहालले जनाए । २८ वर्षदेखि शिक्षण पेशामा आवद्ध दाहाल कांग्रेसका मनोनित जिल्ला सदस्य हुन् । ‘पछिल्लो शिक्षा ऐनले शिक्षकलाई राजनिती गर्न बन्देज लगाएकाले राजीनामा दिएको हो,’ दाहालले भने, ‘दोहोरो भूमीकामा रहँदा बढि आलोचना खेप्न पर्ने भएकाले एकातिर लाग्नु उचित ठानियो ।’ 
जिल्ला शिक्षा कार्यालयले कार्तिक ३० गतेको सर्वदलीय बैठकमा शिक्षकलाई राजनितीबाट टाढा राख्नका लागि जिल्लास्थित दलका नेतालाई प्रतिबद्धता गराएको थियो ।