पत्रकार चौलागाँईलाई धम्की दिएको भन्दै महासंघको आपत्ति

खोटाङ । नेपाल पत्रकार महासंघ खोटाङ शाखाले समाचार लेखेको विषयलाई लिएर नेपाली काँग्रेस खोटाङका सभापति नरेशकुमार श्रेष्ठले पत्रकारलाई धम्क्याएको भन्दै आपत्ति जनाएको छ ।

क्वारेन्टाइनमा शंकास्पद नागरिक राख्न कांग्रेस सभापति श्रेष्ठको असहयोगबारे समाचार प्रकाशन भएको विषयमा श्रेष्ठले पत्रकार उत्तम चौलागाँलाई ज्यान मार्ने धम्की दिएको शाखाले जनाएको छ ।

नेपाल पत्रकार महासङ्घ, खोटाङ शाखाले एक विज्ञप्ति जारी गर्दै समाचारप्रति चित्त नबुझे खण्डन गर्ने वा त्यसको कानूनी उपचार खोज्ने वैधानिक विधि र पद्धति हुँदाहुँदै पत्रकार चौलागाईंलाई सभापति श्रेष्ठले धम्क्याएको जनाएको छ ।

‘यो जिम्मेवार व्यक्तिबाट अपेक्षा गर्न सकिने व्यवहार पटक्कै होइन । तसर्थ संविधानले ग्यारेन्टी गरेको पूर्ण प्रेस स्वतन्त्रताको रक्षा गर्दै निर्वाध र स्वतन्त्रतापूर्वक पत्रकारिता गर्ने वातावरण बनाउन सरकार तथा सम्बद्ध पक्षको ध्यानाकर्षण गराउँछौँ । साथै पत्रकार चौलागाँको सुरक्षाका लागि सम्बन्धित पक्षसँग जोडदार माग गर्दछौँ ।’ विज्ञप्तिमा उल्लेख छ ।