गभर्नर पाएपछि जिल्लावासीमा खुशी

काठमाडौं । नेपाल सरकारले नेपाल राष्ट्र बैङ्कको गभर्नरमा जिल्लावासी महाप्रसाद अधिकारीलाई नियुक्त गरेपछि सामाजिक सञ्जालमार्फत बधाई तथा शुभकामनाको लहर चलेको छ ।

खोटाङको खोटेहाङ गाउँपालिका–८ सिम्पानीस्थित बर्रे स्थायी घर भएका अधिकारीलाई मन्त्रिपरिषदको सोमवारको बैठकले केन्द्रीय बैङ्कको गभर्नरमा नियुक्त गरेपछि उनका आफन्त तथा जिल्लावासी खुशी भएका हुन् ।

सरकारबाट गभर्नरमा नियुक्त भएपछि खोटाङबाट निर्वाचित प्रतिनिधिसभा सदस्य विशाल भट्टराई र खोटाङवासीले अधिकारीलाई बधाई तथा शुभकामना दिइरहेका छन् ।

भट्टराईले अधिकारी असाधारण व्यवसायिक क्षमता भएका, इमान्दारिता र निष्ठाका पर्याय तथा अनुभवका खानी भएको जनाउँदै खोटाङको साधारण परिवार र परिवेशमा जन्मेर आफ्नै मिहेनत र परिश्रमले महत्वपूर्ण जिम्मेवारीमा पुगेर कुशलता प्रदर्शन गर्ने अपेक्षा व्यक्त गरे ।

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य भट्टराईले इमानदारिताका साथ काम गर्न अधिकारीलाई सुझाव दिए।

अधिकारीलाई पाँच वर्षे डेपुटी गभर्नर पदबाट बाहिरिएपछि सरकारले लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत नियुक्त गरेको थियो ।

खोटाङको दक्षिणी क्षेत्रमा जन्मिएका अधिकारीले भारतबाट चाटर्ड एकाउन्टेन्स अध्ययन पुरा गरेका छन् । सन् १९९४ मा राष्ट्र बैङ्कका उपनिर्देशक भएका अधिकारीको कार्यकाल पाँच वर्षको रहनेछ ।

नवनियुक्त गभर्नर अधिकारीले खोटाङको सिम्पानी माविबाट वि.सं. २०३८ सालमा एसएलसी उत्तिर्ण गरेका थिए । रासस