
खोटाङ । नेपाली कांग्रेस खोटाङका सभापति नरेश श्रेष्ठले खोटाङमा स्थानीय तहले कोरोना रोकथामका लागि गरिरहेको पहलमा असहयोग गरेको पाइएको छ । सभापति श्रेष्ठले हलेसी तुवाचुङ नगरपालिकाले कोरोना भाइरस संक्रमणको जोखिम रहेका व्यक्ति र उनका आफन्तलाई क्वारेनटाइनमा राख्न गरेको प्रयासमा असहयोग गरेको पाइएको हो ।
श्रेष्ठले अश्लिल र अभद्र व्यवहार गरेको भन्दै कांग्रेसका क्षेत्रीय सभापति, उपसभापति र भातृ संगठनहरुले संयुक्त रुपमा विज्ञप्ति जारी गरेर त्यसको विरोध गरेका छन् ।
क्वारेनटाइनमा राख्ने विषयमा हलेसी तुवाचुङ नगरपालिकाका मेयर ईवन राई र कांग्रेस सभापति श्रेष्ठ बिचको विवाद र मेयर राईमाथी गरिएको अश्लिल गाली र व्यवहारको भत्र्सना गर्दै सोमबार क्षेत्र नं २ का क्षेत्रीय सभापति तिर्थराज भट्टराई, क्षेत्र नं १ का उपसभापति लोकेन्द्र राजभण्डारी, नेपाल तरुण दलका अध्यक्ष भिषण राई, नेविसंघ अध्यक्ष राज कुमार बस्नेत, ट्रेड यूनियन कांग्रेसका अध्यक्ष कृष्ण आचार्य, नेपाल महिला संघ अध्यक्ष राम कुमारी राई, नेपाल स्वास्थ्यकर्मी संघ अध्यक्ष प्रकाश घिमिरे, नेपाल प्रेस यूनियन अध्यक्ष उत्तम चौलागाई, नेपाल आदिवासी जनजाती महासंघ अध्यक्ष जसराज किँराती र नेपाल लोकतान्त्रिक खेलकुद संघका अध्यक्ष मिलन कसजुले संयुक्त विज्ञप्ती जारी गरेर सभापति श्रेष्ठको क्रियाकलापको विरोध गरेका छन् ।
विश्वव्यापी महामारीको रुपमा फैलिएको कोभिड–१९ का विरुद्ध मानव कल्याण र उद्धार गरेवापत धन्यवाद दिनु पर्नेमा उल्टै अश्लील शब्द प्रयोग गर्ने लगायतको शैली राजनीति तथा सामाजिक हित विपरित भएको जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।
दिक्तले रुपाकोट मझुवागढी नगरपालिकाले यसअघि क्वारेन्टाइन बनाउने क्रममा दिक्तेलस्थित माउण्ट एभरेष्ट बोर्डिङ स्कूलको भवन दिने सहमति भएकोमा सभापति श्रेष्ठले नै भाजो हालेपछि अन्यत्र नै बनाउन परेकाे आरोप पनि उनीमाथि लाग्ने गरेको छ ।
यता, उदयपुरमा आइसोलेशनमा राखिएका वैदेशिक रोजगारीबाट आएका किर्तिमान नेपाली भागेर हलेसी तुवाचुङमा रहेको छोरी ज्वाँईको घर बस्दै आएको पहिचान पछि उनलाई दुर्छिममा स्थापना गरिएको क्वारेन्टाइनमा राख्ने क्रममा कांग्रेस सभापति श्रेष्ठले भाँजो हालेको नगरपालिकाका मेयर राईले आरोप लगाउदै आएका छन् । सभापति श्रेष्ठले भने व्यक्तिगत रुपमा अवरोधको प्रयास नगरेको भन्दै दुर्छिमका नागरिकको आवाज राखेको बताएका छन् ।
त्यसै विषयमा सभापति श्रेष्ठले मेयरमाथि गाली गलौच तथा अपशब्द प्रयोग गरेको भन्दै कांग्रेस निकट भातृ संघ संगठनहरुले विरोध जनाएका हुन् ।