खोटाङ, २५ मंसिर । खोटाङबाट सातौँ राष्ट्रिय खेलकुद प्रतियोगीताको क्षेत्रीय प्रतियोगीतामा प्रतिस्पर्धा गर्न जाने सितोरियो कराते खेलाडीलाई बिदाई गरिएको छ ।

मंसिर २७ गतेदेखि २९ गतेसम्म बिराटनगरको शहिद रंगशालामा हुने सातौँ राष्ट्रिय खेलकुद प्रतियोगीता अन्तरगतको क्षेत्रीय छनौट प्रतियोगीताकालागि जाने खेलाडीलाई शनिबार दिउँसो जिल्लाबासीले भव्य कार्यक्रमकाबीच बिदाई गरेका हुन् । सितोरियो करातेका संस्थापक प्रशिक्षक थानेश्वर राईको गृहजिल्लाका शुभेच्छुकले क्षेत्रीय प्रतियोगीता हुँदै राष्ट्रिय प्रतियोगीतामा पुग्न र बिजयी बनेर ‘खोटाङको नाम र ईज्जत’ फैलाउनकालागि शुमकामना दिँदै सितोरियो खेलाडीलाई बिदाई गरेका हुन् । सदरमुकाम दिक्तेलको पूरानोबेस क्याम्पमा आयोजित कार्यक्रममा जिल्लाबासीकोतर्फबाट राजनैतिक दल, प्रशासन, सुरक्षा निकाय, कार्यालयका प्रमुख तथा प्रतिनिधि लगायतले सितोरियो खेलाडीलाई अबिर र माला ओढाएर बिदाईकासाथमा शुभकामना प्रदान गरेका छन् ।
नेपाल सितोरियो कराते संघ खोटाङको समन्वयमा किरात राई यायोकखा, किरात राई खेलकुद संघ र आदिबासी जनजाती महासंघ जिल्ला समन्वय परिषदले खेलाडीको सम्मानमा बिदाई तथा शुभकामना कार्यक्रम गरेको हो । जिल्लाबासीले खेल कौशल देखाएर व्यवसायीक खेलाडीकोरुपमा स्थापित हुनकालागि खेलाडीलाई शुभकामना दिएका छन् । कार्यक्रममा सांसद सरस्वती बजीमय, दलकातर्फबाट राप्रपा नेपालका अध्यक्ष जीवन श्रेष्ठ, सहायक प्रमुख जिल्ला अधिकारी दिनेश कुमाल लगायतले खेलाडीको सफलताको कामना गरे ।
प्रतियोगीताकालागि २१ खेलाडी, दुई जना निर्णायक, एक जना कोच र एक जना व्यवस्थापक गरी २५ जनाको टिम बिराटनगर प्रस्थान गरेका छन् । २०६८ सालमा भएको छैठौँ राष्ट्रिय खेलकुद प्रतियोगीतामा खोटाङले तीन स्वर्णसहित पुर्वाञ्चल दोश्रो स्थान प्राप्त गरेको थियो । क्षेत्रिय तथा राष्ट्रिय प्रतियोगितामा उत्कृष्ट खेल प्रदर्शन गर्दै खोटाङको शिर उँचो राख्ने नेपाल सितोरियो कराते संघ खोटाङका अध्यक्ष सञ्जयकुमार राईले बताए ।