खोटाङको साधारण परिवारमा जन्मिएका अधिकारी बने नेपाल राष्ट्र बैंकको गभर्नर

काठमाडौं २४ चैत । खोटाङको साधारण परिवार जन्मिएका महाप्रसाद अधिकारी नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्त भएका छन् । उनी पाँच वर्षका लागि गभर्नर नियुक्त भएका हुन् । खोटाङको खोटेहाङ गाउँपालिकामा जन्मिएर बाल्यकालको शिक्षा दिक्षा त्यहीँ लिएका उनलाई सोमबार बसेको मन्त्रीपरिषद बैठकले गभर्नर पदमा नियुक्त गरेको हो ।

यसअघि राष्ट्र बैंकको महत्वपूर्ण निर्णयहरु गराउन अधिकारीले सघाउ पुर्याउँदै आएका थिए । राष्ट्र बैंककै डेपुटी गभर्नरबाट अवकास पाएका अधिकारीसँग राष्ट्र बैंकमा ३ दशक काम गरेको अनुभव छ ।

अर्थमन्त्री डा. युवराज खतिवडाको संयोजकत्वमा रहेको सिफारिस समितिले नयाँ गभर्नरका लागि अधिकारीसहित डेपुटी गभर्नर चिन्तामणि सिवाकोटी र डा. राजन खनालको नाम सिफारिस गरेको थियो ।

नयाँ गभर्नरमा अधिकारी नियुक्त भएपछि खोटाङका प्रतिनिधि सभा सदस्य विशाल भट्टराईले बधाई ज्ञापन गरेका छन् । ‘असाधारण ब्यवसायिक क्षमता भएका, इमान्दारिता र निष्ठाका पर्याय तथा अनुभवका खानी महाप्रसाद अधिकारी नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्त हुनुभएकोमा हार्दिक बधाई ज्ञापन गर्दछु ।’ सांसद भट्टराईले सामाजिक सञ्जालमा भनेका छन् ‘खोटाङको साधारण परिवार र परिवेशमा जन्मी-हुर्की आफ्नै मेहनत र परिश्रमले महत्वपूर्ण जिम्मेवारीमा पुगेर कुशलता प्रदर्शन गर्दै आउनुभएका उहाँले गभर्नरको जिम्मेवारी अपेक्षा अनुरुप नै अब्बल ढङ्गले पुरा गर्ने कुरामा कुनै दुविधा छैन ।’

सांसद भट्टराईले व्यक्ति छनोटमा वदनियत राखिन्छ भन्ने आम आरोपलाई यो नियुक्तिले खण्डन मात्रै नगरेको भन्दै इमानदारीता कायम राख्न सकियो भने सरकारले योग्यता अनुसारको जिम्मेवारी दिन्छ भन्ने कुरालाइ पनि प्रमाणित गरेको बताएका छन् ।