
खोटाङ चैत्र–१३, खोटाङस्थित जन्तेढुंगा गाउँपालिकाले भारतबाट गाउँ फर्केका ४० जनालाई होम क्वारेन्टाइनमा बस्न सुझाव दिएको छ । कोरोना भाइरसको त्राससँगै भारतका विभिन्न स्थानबाट घर फर्किएका स्थानीयलाई १४ दिनसम्म घरैमा क्वारेन्टाइनमा बस्न भनिएको गाउँपालिकाका स्वास्थ्य शाखा संयोजक पवन पोखरेलले बताउनुभयो ।
गाउँपालिकाको केन्द्र चिसापानीमा स्थापना गरिएको हेल्थडेस्कमा आइपुगेका उनीहरुलाई ज्वरोको समस्या नदेखिए पनि घरमा परिवारबाट अलग्गै बस्न भनिएको गाउँपालिकाले जनाएको छ । भारतबाट सोमबार १८ जना स्थानीय चिसापानी हेल्थडेस्कमा आइपुगेका थिए ।
भारतबाट फर्किने सबै स्थानीयलाई होम क्वारेन्टाइनमा बस्न लगाइने पोखरेलले जनाउनुभयो । जन्तेढुंगा गाउँपालिकाले चिसापानी सहित उदयपुरको सिमानामा पर्ने बंशिलाघाट र भोजपुरको सिमानामा पर्ने भञ्ज्याङखर्कमा हेल्थडेस्क खडा गरेको छ ।